काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जेन–जी आन्दोलनका नाममा नेताहरुमाथि भएको प्रहारको हिसाब–किताब हुने बताएका छन् । नेपाल तरुण दल स्थापना दिवसको अवसरमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी संरचना जलाउने, उद्योगपति, विभिन्न पार्टीका कार्यलय र नेताहरुको घर जलाउने र आक्रमण गर्नेहरुलाई छिटोभन्दा छिटो कारबाही गर्न सरकारालई आग्रह गरे । गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका क्रममा केही सरकारमा नरहेका दल, राजावादीहरु र केही विदेशी दलालहरुको घुसपैठ रहेको उनले बताए ।
‘छिटोभन्दा छिटो जति पनि विभिन्न सरकारी संरचनाहरुमा, उद्योगपति, विभिन्न पार्टी कार्यालयहरु र हाम्रा नेताहरुको घरमा पेट्रोल बममार्फत जुन क्षति पुर्याइएको छ, यिनलाई छिटोभन्दा छिटो कारबाही होस् । होइन भने हाम्रा सबै नेताहरुमाथि, पार्टीमाथि कारबाही हुँदै जाँदा अब हामी चुप बस्दैनौं । २४ गतेको आन्दोलनमा यो सरकारमा नरहेको, सरकार बाहिर रहेका केही पार्टी, केही राजावादी, केही विदेशी दलालहरुले हाम्रा नेताहरुमाथि प्रहार गरेको छ । यसको हिसाबकिताब नेपाल तरुणदलले गर्नुपर्छ,’– उनले भने ।
उनले भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानविन भएर दोषीमाथि कारबाही हुनुपर्ने बताए । तरुण अध्यक्ष गुरुङले अब मुलुकको व्यवस्था जोगाउने र आफ्नो अस्तित्व जोगाउने हो भने त्यस्ता तत्वका विरुद्ध सडकमा उत्रिनुको विकल्प नरहेको बताए । आगामी दिनमा कुनै पनि वादीहरुले गर्ने आन्दोलनका त्यस्ता प्रकारका हर्कत भएको खण्डमा चुप लागेर नबस्न उनले कार्यकर्तालाई निर्देशन दिए ।
‘यदि यो मुलुकको व्यवस्था जोगाउने हो भने, यदि तपाईँ हाम्रो अस्तित्व जोगाउने हो भने अब यिनीहरुको विरुद्धमा सडकमा भिड्ने नै हो । यो भन्दा अर्को विकल्प नै छैन । आउने दिनमा कुनै पनि वादीहरुले गर्ने आन्दोलनहरुमा नेपाल तरुण दल सजक रहने छ । तयारी अवस्थामा रहन पनि साथीहरुलाई हामी आग्रह गर्न चाहन्छौं,’– उनले भने ।
साथै, अहिलेको यो विषम परिस्थितिमा नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर लैजान पनि उनले अग्रज नेताहरुलाई आग्रह गरे । उनले भने, ‘यो घडीमा हामी युवाहरु हाम्रा नेताहरुलाई हामी आग्रह गर्न चाहन्छौं– अहिलेको अवस्थामा नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर लैजान पनि हामी आग्रह गर्न चाहन्छौं ।’




प्रतिक्रिया