काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तरुणहरूलाई जुझारु भएर मुलुक, जनता र संविधानको रक्षाका लागि समर्पित हुन आग्रह गरेका छन् । नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उनले नेपाल इतिहासकै प्रतिकूल अवस्थामा उभिएको र कांग्रेस पार्टीसमेत प्रतिकूल अवस्थामा रहेको उल्लेख गर्दै देश जोगाउन सङ्कल्पसहित अगाडि बढ्न आग्रह गरे ।
‘शान्ति, सुशासन कायमका लागि जेन जेड युवाले गरेको शान्तिपूर्ण आन्दोलन घुसपैठ हुँदा मुलुकले ठूलो विपत्ति सामना गर्नुपर्यो । भदौ २४ गते देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामाथि आक्रमण गरेर ध्वस्त बनाइयो, जनतालाई अधिकार सम्पन्न बनाउन लागेका सन्तनेताको आश्रम खरानी बनाइयो, देशको सिङ्गै राज्यप्रणालीमाथि आक्रमण गरेर प्रतिकूल अवस्थामा पुर्याइयो,’– उनले भने ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको संरक्षण गरेको भन्दै कार्यवाहक सभापति खड्काले उनको प्रशंसा गरे । उनले प्रतिकूल अवस्थामा नेपाल तरुण दलको स्थापना दिवस मनाउँदै गरेको अवस्थामा धैर्य भएर एकताबद्ध हुँदै सङ्गठित भएर सुशासन र समृद्धिको अभियानमा लाग्न आग्रह गरे ।
कार्यवाहक सभापति खड्काले एकताको भावबाट चालु केन्द्रीय समितिको बैठकबाट पार्टीको नियमित अधिवेशन, देशको निर्वाचन, भ्रातृ संस्थाका निर्वाचनलगायतलाई सम्बोधन गर्नेगरी बृहत् एकताका माध्यमबाट प्रतिकूलतालाई चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले राष्ट्रिय एकता र संविधानको रक्षाका लागि मुलुकको सबै दल र पक्षहरूलाई एकताबद्ध गर्ने प्रस्ट मार्गदर्शनका साथ भरोसायोग्य कदम नेपाली कांग्रेसले चाल्ने विश्वास दिलाए ।
नेपाली जनता र राष्ट्रले कांग्रेससँग धेरै आशा, अपेक्षा र भरोसा गरेको भन्दै जनतामा रहेको सार्वभौमसत्ताको रक्षाका लागि एकताबद्ध भएर लाग्न सभापति देउवाले जिम्मेवारी प्रदान गरेको भन्दै कार्यवाहक सभापति खड्काले संयमता र धैर्यताका साथ सबैलाई मिलाएर विगतका कमजोरीलाई केलाएर समीक्षा गर्दै बृहत् एकताद्वारा अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे । उनले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको कुरा कांग्रेस कार्यसम्पादन समितिले निर्णय गरिसकेको पनि उनले बताए । ‘प्रतिनिधिसभा असंवैधानिक तरिकाले विघटन भयो भनेर हाम्रो पार्टीको कार्यसम्पादन समितिको बैठकले निर्णय गरिसकेको छ,’– उनले भने ।




प्रतिक्रिया