काठमाडौं, १० कात्तिक । नेकपा (एमाले) का नेता एवं पूर्व सांसद महेश बर्तौलाले ‘जेनजी’ आन्दोलनपछिको अवस्थालाई संवैधानिक र लोकतान्त्रिक मार्गमा ल्याउने एक मात्र विधि निर्वाचन रहेको बताएका छन् । निर्वाचनमा सहभागी हुने र परीक्षण हुनेमा एमाले कहिल्यै पनि नभाग्ने उनले बताए । निर्वाचनमा सहभागी हुने र निर्वाचनमा जनताले दिएको अभिमतअनुसारको भूमिका निर्वाह गर्ने उनले बताए । ‘जनअभिमत स्वीकार गर्छौं,’– उनले भने ।
हरेक राजनीतिक पार्टीले आफ्नो विचार, दृष्टिकोण र उम्मेदवारमार्फत जनताका माझमा सहज ढङ्गले जान पाउनुपर्ने उनले बताए । यसैगरी मतदाताले पनि भयरहित वातावरणका बीच आफूले मन पराएको व्यक्तिलाई मतदान केन्द्रमा गएर चुन्न र चुनिन मत खसाल्न पाउनुपर्ने उनको धारणा छ ।
समग्रमा राजनीतिक पार्टी र आमजनतालाई विश्वासमा लिई निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र ढङ्गबाट निर्वाचनको वातावरण तयार गर्ने जिम्मेवारी सरकारको रहेको उनले बताए । सरकारले राजनीतिक दलहरूलाई विश्वासमा लिनुपर्नेमा त्यसो हुन नसकेको हो कि भन्ने आशङ्का रहेको उनले बताए ।
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने, लुटिएका हतियार फिर्ता ल्याउने कार्य प्राथमिकतामा राख्नुपर्ने र फरार कैदीबन्दीलाई पक्राउ गर्नुपर्ने उनले बताए । २०६२/०६३ को आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै तोकिएको समयमा निर्वाचन हुनुपर्ने उनले बताए । सरकार, राजनीतिक दल तथा आमजनताबीच विश्वासको वातावरण तयार गरी मुलुकलाई राजनीतिक निकास दिन इमानदारीपूर्वक सबैले काम गर्नुपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया