काठमाडौँ, १० कात्तिक । वैयाकरण नेपाल स्मृति पुरस्कारबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सम्मानित भएका छन् । वैयाकरण नेपाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनलाई ५१ हजार पुरस्कार राशी र सम्मानपत्रसहित सम्मान गरिएको हो ।
वकालत तथा न्याय क्षेत्रमा विशिष्ट योगदान गरेवापत उनलाई प्रतिष्ठानले सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष एकमणि नेपालले बताए ।
माध्यमिककालीन कवि वैयाकरण नेपालको १०४औँ स्मृति दिवसका अवसरमा आज टङ्कमणि नेपाल स्मृतिग्रन्थको लोकार्पणसमेत गरिएको छ ।
व्याकरणविद् तथा साहित्यकार वैयाकरण नेपालका नाति, प्राध्यापक एवं साहित्यकार टङ्कमणि नेपालको स्मृतिमा टङ्कमणि नेपाल स्मृतिपुष्प सार्वजनिक गरिएको हो ।
पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले उक्त ग्रन्थको लोकार्पण गरेका थिए । प्राध्यापक नेपालका छोरी सुनिता नेपाल सुवेदीले भावी पिँढी र पाठकलाई कोसेलीस्वरुप ग्रन्थ प्रकाशन गरिएको बताईन् ।




प्रतिक्रिया