काठमाडौं, कार्तिक ११ । नेपाली कांग्रेसका नेता कुन्दन राज काफ्लेले पार्टीको महाधिवेशन वा आम निर्वाचनमध्ये एउटालाई रोजेर पार्टी अघि बढ्नुपर्ने बताएका छन् ।
आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन वा पार्टीको १५ औँ महाधिवेशन मध्ये कुन बाटो रोज्ने भन्नेबारे पार्टीले स्पष्ट धारणा निर्धारण गरेर अघि बढ्न आवश्यक रहेको बताउँदै उनले निर्वाचनमा जाने भए निर्वाचनको कार्यकतालिका र नियमित महाधिवेशनमा जाने भए महाधिवेशनको कार्यतालिका अनुसार आघि बढ्नुपर्नेमा जोड दिए ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा बोल्दै उनले भने, ‘कांग्रेस कुन बाटोमा जाने भन्नेबारे निर्धारण गर्नुपर्छ । विशेष, नियमित महाधिवेशन वा आम निर्वाचन के मा जाने भन्नेबारे स्पष्ट मार्ग बनाउँनुपर्छ । पार्टीका पदाधिकारीले गफ गरेर हुँदैन् । महाधिवेशन गर्ने भए क्रियाशिल सदस्यको कुरा टुङ्ग्याउनु प¥यो । नयाँ क्रियाशिल कति दिने त्यो पनि टुङ्ग्याउनु प¥यो । पार्टी कार्यालय जलेका जिल्लामा क्रियाशिल सदस्यताको अवस्था बुझ्नु प¥यो । जिल्लामा प्रतिनिधि पठाउन सुरु गर्नु प¥यो । गाउँ, वडा, पालिका अधिवेशन गर्न कति समय लाग्छ र प्रदेश कार्यसमितिको अधिवेशन गर्न कति समय लाग्छ भन्नेबारे समयको निर्धारण गरेर कांग्रेस अघि बढ्नुपर्छ ।’
पार्टी निर्वाचनमा जाने भए पुस १८ भित्रै समानुपातिक तर्फको लिस्ट बुझाई सक्नुपर्ने उनले बताए । त्यस्तै, त्यसभन्दा पहिले वडा नगर, पालिका, जिल्ला, प्रदेश सबैबाट सिफारिस ल्याउनुपर्ने र संसदीय समिति निर्माण गरेर सातै प्रदेशमा आम सभा गर्दै निर्वाचनमा होमिनुपर्ने भएकाले तत्काल कुन बाटो जाने भन्नेबारे पार्टीले ठोस निणर्य गरेर अघि बढ्न आवश्यक रहेको उनले औल्याए ।
कांग्रेसका कुनै नेता तथा कार्यकता महाधिवेशनको विपक्षमा नरहेको बताउँदै उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरले विशेष महाधिवेशन भन्दा नियमित महाधिवेशनमै जोड दिएको दाबी गरे ।
निर्वाचन र महाधिवेशनको प्रक्रिया नै फरक भएकाले पार्टीले महाअधिवेशन र निर्वाचनमा सँगसँगै जान नसकिने उनको भनाई छ । नेपाली कांग्रेसको निर्णयलाई आम जनताले पर्खिरहेकाले कांग्रेसले देशलाई निकास दिनेगरी निर्णयमा जानुपर्ने उनले बताए । नेकपा (एमाले)ले निर्वाचनमा भाग नलिने निर्णय गरेजस्तै कांग्रेसले पनि उपयुक्त निर्णय लिनुपर्ने उनको भनाई छ । नेपाली कांग्रेसलाई तमाम जनताको विश्वास र भरोसा रहेकाले कांग्रेसले गरेको निर्णयले देशलाई निकास दिन सकिने उनले दाबी गरे ।




प्रतिक्रिया