गिरीबन्धुदेखि ओम्नीसम्म छानबिन गर्न सरकारलाई एमाले नेता पोखरेलको चुनौती

‘ओलीलाई स्थान हद गरेर निष्पक्ष निर्वाचन हुन्छ भनेर विश्वास गर्न सकिँदैन’


काठमाडौं, ११ कात्तिक । नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका नेताहरु जोडिएको भए छानविन गर्न सरकारलाई आग्रह गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘संसद् पुनर्स्थापना कि निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका नेताहरुमाथि लाग्ने गरेको आरोप गिरीबन्धुदेखि ओम्नीसम्म छानविन गर्न उनले चेतावनी दिएका हुन् । एमाले आफ्ना नेताहरुको सम्पत्ति छानविनको लागि पनि तयार रहेको उनको भनाइ छ ।

‘भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका कोही पनि मान्छे परेका छन् भने अहिले त हामी सरकारमा छैनौं, छानविन होस् । पशुपतिमा जलहरी सुन भनेर पित्तल राखे भनेर देशभरी हल्ला भयो । संसदीय छानविन समितिले छानविन गर्यो । एक तोला पनि तलमाथि नभएर सुन फेला पर्यो,’– उनले भने, ‘अहिले हामीलाई गिरीबन्धुको कुरा उठाइएको छ । ओम्नीको कुरा उठाइएको छ । सबै गरे हुन्छ नि त । एमाले तयार छ । व्यक्ति–व्यक्तिको सम्पत्ति छानविन गर्न पनि तयार छ ।’

पोखरेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको टीओआर निर्वाचनमात्रै रहेको बताए । सबैभन्दा बढी पपुलर मत पाएका नेता (केपी शर्मा ओली) लाई स्थान हद गरेर निष्पक्ष निर्वाचन हुन्छ भन्ने कुराको विश्वास गर्न नसकिने उनले बताए । ‘अहिले यो सरकारको टिओआर भनेको निर्वाचन हो । निर्वाचनको कुृरा गर्ने अनि देशको सबैभन्दा पपुलर मत पाएको नेतालाई नै स्थान हद गर्ने । के कारण हो ? पार्टी अध्यक्ष नै स्थान हद भएपछि त्यो पार्टीका चुनावी कार्यक्रमहरु कसरी हुन सक्छ ? निष्पक्ष निर्वाचन हुन्छ भन्ने कुराको विश्वास कसरी बन्छ ?’ उनले भने ।

आवधिक निर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगबाट हुन्छ भन्ने कुराको सुनिश्चितता कुनै पनि नेपाली ढुक्क भएर भन्न सक्ने अवस्था नरहेको उनले बताए । त्यो वातावरण बन्छ भने एमाले कुनै हिसाबले पनि निर्वाचनबाट नभाग्ने उनले बताए । ‘स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने सुनिश्चिततामा एमाले निर्वाचनमा जान्छ,’– उनले भने ।

उनले आफूले तत्कालीन अवस्थामा ओलीले संसद् विघटन गर्दा पनि विपक्षमा रिट हालेको बताए । संसद् सदस्यसमेत नभएको मान्छे प्रधानमन्त्री बनेर संसद् विघटन गर्ने कुरा संविधानसम्मत नरहेको उनले बताए । संसद् विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्ने पनि उनको दाबी छ ।

‘कतैबाट पनि संसद्मा विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था बन्यो, ७६ (१) को सरकारले पनि सकेन, २ को सरकारले पनि सकेन, ३ को सरकारले पनि सकेन र ५ को सरकारलाई पनि कतैबाट वातावरण नबन्ने अवस्थामा संसद् विघटन हुने कुराबाहेक अरु अवस्थामा संसद् विघटन नै गर्न पाइँदैन भनेको अवस्थामा संसद् सदस्य नै नभएको मान्छेले संसद् विघटन गर्ने कुरा कानुनसम्मत मान्न सकिँदैन । यो कदम संविधानसम्मत छ भनेर उभिएर कसैले भन्न सक्नुहुन्छ र ? यस्तो परिस्थितिमा मलाई विश्वास छ, सम्माननित सर्वोच्च अदालतमा मुद्दा पनि परिसकेको छ, यो असंवैधानिक कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्नेछ भन्ने म आशा गर्दछु,’– उनले भने ।

नेता पोखरेलले सरकारमा अहिले जेन–जीको भावना प्रतिबिम्बित गर्ने मानिसहरु नगएको बताए । सरकार बनेको ४५ दिन नाघिसक्दा पनि यो चाहिँ राम्रो गर्यो है भन्ने कुरा केही पनि नरहेको उनले बताए । समृद्धिको दिशामा एमालेले जति काम अरु कसैले गर्न नसकेको उनले बताए । सुत्केरी महिलालाई सुत्केरी भत्ता, बृद्ध भत्ता, ७५३ स्थानीय तहमा अस्पताल, सुरुङमार्गको सुरुवात गर्नेलगायतको काम एमाले नेतृत्वको सरकारले प्रारम्भ गरेको उनले बताए ।

नेकपा (माओवादी केन्द्र) का नेताहरु कुनै न कुनै काण्डमा मुछिइरहेको बेलामा एमालेका कुनै पनि नेताहरुमाथि अख्तियारले मुद्दा अभियोजन गर्न नसकेको उनले बताए । बाहिर प्रचारमा आएका कुरा गलत रहेको उनले दाबी छ । ‘आज जति पनि माओवादीका नेताहरु छन्, सबै कुनै न कुनै काण्डमा परिराखेको अवस्था छ । नेकपा (एमाले) को बाहिर प्रचारबाहेक अख्तियारले कसलाई मुद्दा अभियोजन गर्न सकेको छ ? यो जे चिज बाहिर प्रचार गरिएको छ, गलत कुरा हो,’– उनले भने ।

अहिलेको परिस्थितिको अन्त्य गर्ने सार्वभौम थलो संसद्बाहेक अर्को हुन नसक्ने उनको भनाइ छ । २०६३ मा माओवादीलाई संसद्मा समावेश गराएको जसरी नै जेन–जी पुस्तालाई समावेश गराएर, सार्वभौम जनताको थलोमा बसेर सबै समस्याको निकास निकाल्नुपर्ने उनले बताए । नेता पोखरेलले संसद्बाट मात्रै आजको मुलुकको अस्थिर अवस्थाको समाधान नहुने बताए ।