काठमाडौं, १२ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व सांसद लेखनाथ दाहालले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ माथि प्रश्नैप्रश्न तेर्स्याएका छन् । उनले ‘गएका १३ वर्षमा अध्यक्ष नै दिएर पुरस्कृत गर्नुपर्ने गरी के योगदान गरेको छ र अध्यक्ष मागेको ?’ भन्दै प्रश्न गरेका छन् । साथै, नेता, कार्यकर्ता र जनताको मनोविज्ञान विभाजित गरेको, प्रचण्डलगायत माओवादीका नेताहरूलाई मार्न बम बिछ्याएको, अरू पार्टीलाई भोट हाल्न लगाएर माओवादीलाई हराउन भूमिका खेलेको लगायतको आरोप नेता दाहालले विप्लवमाथि लगाएका छन् ।
आफ्नै पार्टीको केन्द्रीय समितिको बहुमत केन्द्रीय समिति सदस्यको निर्णय अस्वीकार गरी लेनिनवादी सङ्गठनात्मक पद्दतिलाई अस्वीकार गर्दा (नेकपा बहुमत) बनाउनु पर्ने बाध्यता सृजना गरेको, अत्यधिक केन्द्रीय सदस्य एकताको पक्षमा हुदाहुँदै एकता नगरी फेरि त्यही अवस्था सृजना गर्न खोजेको लगायतका आरोप नेता दाहालले विप्लवमाथि लगाएका छन् ।
वार्ता टोलीमा नाम र चुनाव चिन्हको बारेमा छलफल र निष्कर्षमा पुग्नैलाग्दा विप्लवले छलफलमा आएको नाम लिएर निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको उनको आरोप छ ।
त्यस्तै, विचार मिल्नेसँग एकताको लागि वार्ता जारी रहँदारहँदै विना जानकारी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि एकताको लागि संवाद सुरु गरेको, यहीबीचमा दर्जनौं पटक राजावादीहरूसँग गोप्य वार्तामा बसेको, आफ्नो उत्पादन भन्दै पारीबाट आलु ल्याइ थपेर बेचेको लगायतका आरोप उनले विप्लवमाथि लगाएका छन् ।




प्रतिक्रिया