रिता केसीको बाबाआमाको रहस्यमय मृत्यु, नक्कली मामा बनेर दिदी सीतालाई पनि प्रहरी जवानले बेपत्ता बनाएको आरोप


काठमाडौं, १२ कात्तिक । वि.सं. २०४८ सालमा रिता केसीको बाबाआमाको रहस्यमय मृत्यु भयो । त्यतिबेला उनी ५ वर्षको थिईन् । उनलाई बुबाको नाम थाहा छैन । आमाको नाम भने तुलसी केसी बताउँछिन् । रिताका अनुसार बुबा सरकारी जागिरे थिए । बुबाआमाको मृत्युपछि रिता, उनको भाइ प्रकाश र दिदी सीतालाई नक्कली मामा बनेर एक प्रहरी जवानले लिएर जान्छन् । नक्कली मामा बनेका ती प्रहरी जवान पुरिन्द्र शाही हुन्छन् । शाहीले रिता र उनको भाइ प्रकाशलाई ललितपुरको ग्रेस होम (बरदान आश्रम) बालगृहमा छाडिदिन्छन् । उनकी दिदी सीतालाई भने सँगै लिएर जान्छन् । त्यस दिनदेखि सीता बेपत्ता हुन्छिन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रिताले आफ्नो विगतबारे जानकारी गराएकी हुन् । रिताका अनुसार ती प्रहरी जवान शाही हाल नख्खु कारागारमा सीतालाई बेपत्ता बनाएको आरोपमा थुनामा छन् । रिताले आफ्नो बाबाआमाको मृत्युको रहस्य पनि राज्यले अनुसन्धान गरोस् भन्ने चाहेको बताईन् । रिताका अनुसार उनीहरुलाई आफ्नो घर कहाँ थियो भन्ने पनि थाहा छैन । रिताले आफूले आफ्नो घर र बाबाआमाको मृत्युको कारण जान्न चाहेको बताईन् ।