अहिलेको संविधान जेन-जी विरोधी छ, यसलाई जलाउनुपर्छः स्वतन्त्र राजवादी नेपाल


काठमाडौं, १४ कात्तिक । स्वतन्त्र राजावादी अधिवक्ता स्वागत नेपालले अहिलेको संविधान जेन–जी विरोधी रहेको बताएका छन् । उनले यो संविधानमा रहेर जेन–जीलाई चुनावमा उठ्न रोकेको र राष्ट्रिय सभा, संवैधानिक आयोगलगायतमा जेन–जीको प्रतिनिधित्व अस्वीकार गरिएको बताएका हुन् । वर्तमान संविधानले नेपाली नागरिकहरुलाई मिलिजुली शोषण गर्ने काम गरेको उनको दाबी छ । उनले यो संविधान च्यात्न र जलाउन आग्रह गरे ।

‘अहिलेको संविधान जेन–जी विरोधी संविधान हो । अहिलेको संविधान जेन–जीलाई सांसद हुनै दिन हुँदैन भनेर लेखिएको संविधान हो । अब राष्ट्रिय सभाको चुनाव हुँदै छ । त्यो राष्ट्रिय सभाको चुनावमा एउटा पनि जेन–जी उठ्न पाउँदैन भनेर लेखिएको छ । यस्तो संविधान जलाउने कि नजलाउने ? यस्तो संविधानलाई च्यात्ने कि नच्यात्ने ?’ प्रश्न गर्दै उनले भने ।

उनले २०६३ मा ८३ जना माअ‍ोवादीलाई संसद्मा चुनाव नगराइ ल्याएको बताउँदै उनले अब ८० प्रतिशत जेन–जी युवाले स्वामित्व पाउनुपर्ने बताए । उनले अब जेन–जीहरु चुनावबाट नभएर आन्दोलनबाट हुनुपर्ने बताए ।

‘विदेशीहरुबाट लादिएको अहिलेको संविधान, गणतन्त्र, यसका पक्षधरहरु र सरकारका पक्षधरहरु राजसंंस्था पुनर्स्थापनाको लागि आन्दोलन गरिरहँदा चुनाव घोषणा भएको छ । चुनावबाट राजसंस्था पुनर्स्थापना गर भनेर भनिरहेका छन् । हामी प्रश्न गर्न चाहन्छौं– तपाईँ सुशीला कार्की चुनाव गरेर प्रधानमन्त्री हुनुभएको हो ? अनि राजसंस्था पुनर्स्थापना गर्न चुनावमा गइन्छ ? गइँदैन । हामी २०६३ मा माओवादीलाई सिधै जंगलबाट सांसद बनाएर ल्याएजस्तो ८० प्रतिशत जेन–जी सांसद बनाउन चाहन्छौं । कुनै चुनाव हुनेवाला छैन । चुनावबा ८३ जना माओवादी सांसद बनेर आएका थिएनन् । त्यही मौकामा कांग्रेस र एमालेले पनि सांसदहरु थपेका थिए । सिकाउँछौ जेन–जीलाई ? कसरी स्थापित गर्नुपर्छ, चुनावबाट कि आन्दोलनबाट ? आन्दोलनबाट, कुनै चुनावबाट होइन,’– उनले भने ।

उनले राजसंस्था पुनर्स्थापना गर्न चाहनेहरु पनि एकतावद्ध हुनुपर्ने आवश्यकता औंल्याए । राप्रपामा पनि बेग्लाबेग्लै गुटजस्तो देखिएको उनले बताए । राजसंस्थावादी जेन–जीहरुले राजेन्द्र लिङ्देन, धवलशमशेर जवरालगायतको घरमा पुगेर उनीहरुलाई एकै ठाउँमा ल्याउन आग्रह गरे । देशैभरीबाट जेन–जी राजसंस्थावादी युवाहरुको संगठन बनिसकेको पनि उनले जानकारी गराए ।

साथै, अहिले कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय नेताहरुले राजसंस्था चाहिनेरहेछ भनिरहेको पनि उनले बताए । अघिल्लो हप्ता आफूले ती नेताहरुसँग भेटेर राजसंस्थाको पक्षमा मत बुझेको बताए । उनीहरु एकै ठाउँमा आउने प्रयास भइरहेको अधिवक्ता नेपालले बताए । अब विश्वमै शान्ति युद्धको हुरी राजसंस्थावादीहरुले ल्याउने बताए ।

‘अहिले कांग्रेसका माननीयज्यूहरु, एमालेका माननीयज्यूहरु, रास्वपाका माननीयज्यूहरु अब राजसंस्था चाहिने रहेछ भनेर एकतावद्ध हुन थाल्नुभएको छ । मैले अघिल्लो हप्ता पनि धेरै माननीयज्यूहरुलाई भेटिसकेको छु । एकै ठाउँमा आउने प्रयास भइरहेको छ । उहाँहरु एकतावद्ध हुँदै हुनुहुन्छ । साँच्चैको नेपाली कांग्रेस सधैं राजसंस्थावादी छ । किनकी विपीले राजा भएन भने देश हुँदैन भन्नुहुन्थ्यो । त्यो साँच्चैको नेपाली कांग्रेस भनेको डा.सुनिल शर्मा, शंकर भण्डारी हो,’– उनले भने ।