‘रेशम चौधरीले भाग लिन पाएन भने यो देशमा चुनाव हुँदैन’


काठमाडौं, १४ कात्तिक । नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशमलाल चौधरीले आफूहरुलाई बाहिर राखेर चुनाव गराउने सपना नदेख्न आग्रह गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको ‘वृहत् राजनीतिक संवाद’ लाई सम्बोधन गर्दै उनले रेमश चौधरी, धनीराम थारु, लक्ष्मण थारुलागयतलाई बाहिर राखेर चुनाव गराउने सपना नदेख्न चेतावनी दिएका हुन् । सिंगो समुदायको विद्रोहलाई पन्छाउन खोजिएको खण्डमा देशमा चुनाव हुनै नसक्ने उनले बताए । टीकापुर घटनाको सन्दर्भलाई लिएर चुनावमा भाग लिन नपाउने कुरा उठिरहेको बेलामा उनले यस्तो बताएका हुन् ।

‘रेशम थारु, लक्ष्मण थारु, धनीराम थारुले यो चुनावमा भाग लिन पाएन भने म यस मञ्चबाट भन्छु– यो देशमा चुनाव हुँदैन । के–को चुनाव हुन्छ ? सिंगो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ? नेपाली कांग्रेसको इतिहास के थियो, नेकपा (एमाले) को इतिहास के थियो, शेरबहादुरजी, ओलीजी र प्रचण्डको इतिहास के थियो ? जेन–जीको इतिहास के छ ?’ प्रश्न गर्दै उनले भने ।

उनले आफूसँग देश बनाउने डीपीआर रहेको बताए । देश बनाउने डीपीआर भएका नेताहरुलाई स्वीकार गरिँदैन भने देश नबन्ने उनको भनाइ छ । नेता चौधरीले संसद् पुनर्स्थापनको कुनै औचित्य नरहेको उनले बताए । नागरिकहरु जेन–जीको जनविद्रोहको साथमा रहेको उनले बताए । सबै प्रकारको आन्दोलनलाई संस्थागत गर्नका लागि उनले जेन–जीहरुलाई आग्रह गरे ।

उनले आफूहरु जेन–जी जनविद्रोको साथमा रहेको बताए । नेता चौधरीले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई छुटाउनुपर्ने बताए ।