स्थानीय गाई बचाउन पशुपतिनाथ मन्दिरमा गो संरक्षण सहस्र अर्चना


काठमाडौँ, १४ कात्तिक । पशुपतिनाथका मूलअर्चक गणेश भट्टले स्थानीय गाई संरक्षणको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा ‘गो संरक्षण सहस्र’ अर्चना गरेका छन् ।

गोपाष्टमी पर्वका अवसरमा गोवंश संरक्षण अभियानले बुधबार गोरखा जिल्लाबाट सुरु गरेको गोसंवद्र्धन रथयात्रा पशुपतिनाथ आइपुगेपछि आज बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरिएको हो । पशुपतिनाथको ज्योतिर्लिङ्ग चर्ने क्रममा स्थानीय गाईले पत्ता लगाएको धार्मिक विश्वास छ ।

गोरखाको पालुङटार नगरपालिका(७ च्याङ्ली, चुँदीघाटमा रहेको ओमकार योग आयुर्वेद गुरुकुलको संयोजनमा बुधबार बिहान ८ः०० बजेको साइतमा गोरखा दरबार क्षेत्रस्थित गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाआराधना गरी गो संवद्र्धन यात्रा सुरु भएको थियो । यात्राका क्रममा आज बिहान मैतीदेवीस्थित गोदा वेणुगोपाल मन्दिरमा गाईको पूजाआराधना गरी राजधानीका विभिन्न भागमा घुमाइएको थियो ।

थापाथलीस्थित राम मन्दिर र गोरखनाथ मन्दिर परिसरमा पनि गोरखाबाट ल्याइएको स्थानीय गाईको विधिपूर्वक पूजाआराधना गरिएको थियो ।

आज बिहान पशुपतिनाथ मन्दिरसम्म यात्रा गरी मूल भट्टले पूजाआराधनासहित गाई संरक्षणको कामना गरिएको थियो । यात्रा सकिएसँगै स्थानीय गाईको संरक्षणका लागि राष्ट्रिय समिति गठन गरिने कार्यक्रम संयोजक एवं ओमकार योग आयुर्वेद गुरुकुलका प्राचार्य आचार्य गोविन्द रेग्मीले जानकारी दिए । रासस