प्रचण्ड-माधवको पार्टी एकता घोषणा कात्तिकमै हुने


काठमाडौं, १४ कात्तिक । नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच छिट्टै नै पार्टी एकता हुने भएको छ । पार्टी एकताबारे निर्णय लिन एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी रहेको छ । केन्द्रीय समिति बैठकमा पनि पार्टी एकता गर्ने र नगर्ने गरी नेताहरु दुई कित्तामा विभाजित भएका छन् । पार्टी एकताको पक्षमा अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष जगन्नाथ खतिवडा, स्थायी कमिटी सदस्य विरोध खतिवडालगायत रहेका छन् ।

पार्टी एकता गर्न नहुने पक्षमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, रामकुमारी झाँक्रीलगायतका नेताहरु रहेका छन् । एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडा माओवादीसँग एकता गर्ने निर्णय यही केन्द्रीय समितिले गर्ने बताउँछन् ।

खतिवडाका अनुसार माअ‍ोवादी र एकीकृत समाजवादीबीच यही महिना (कात्तिक) मै पार्टी एकता घोषणा हुनसक्ने सम्भावना रहेको छ । यही महिनाभित्र राष्ट्रिय भेला गरेर एकताको घोषणा गर्ने उनले बताए ।

यता माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकीकृत समाजवादीसँग एकताको लागि हतारमा देखिन्छन् । उनी वामपन्थीहरुबीच एकता गरेर ठूलो कम्युनिष्ट पार्टी बनाउने उद्देश्यका साथ आफू अगाडि बढेको बताउँछन् । केपी ओलीले नेतृत्व छाडेपछि एमालेसँग पनि एकता हुनसक्ने प्रचण्डको भनाइ छ । एमालेका पनि दोस्रो तहका नेताहरुबीच एकताको पक्षमा कुरा भइरहेको माओवादीका नेताहरुले बताउँदै आएका छन् ।