मनास्लु क्षेत्रमा विदेशी पर्यटक पहिरोमा पुरिईन्

https://reportersnepal.com/wp-content/uploads/2019/09/cropped-RN-for-facebook-1.jpg

गोरखा, १४ कात्तिक । मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छन् । चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए ।

न्याक फेदीभन्दा केहीमाथि भिरमा आज दिउसो २ः०० बजेतिर घटना भएको उनले बताए । “भिरबाट झरेको ढुङ्गाले उहाँलाई पुरेको छ । टाउको मात्र देखिएको छ, उनले भने, “उहाँको श्रीमान् र मचाहिँ सकुशल छौँ ।”

त्यतिबेला ठूलो पर्यटकको समूह रहेको उनले बताए । “उहाँ पुरिए पनि पहिरोको डरले कसैले उद्धार गर्न सकेनन्”, उनले भने ।

घटनास्थल बस्तीबाट धेरै टाढा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । त्यसतर्फ फिलिम चौकीबाट प्रहरी पठाइसकिएको उनले बताए ।