काठमाडौं, १४ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाहरुको दबाबको कारण आफूले कांग्रेस, एमाले र माओवादी केन्द्रका नेतृत्वसँग भेट नगरेको खुलासा गरेकी छिन् । आज बालुवाटारमा भएको सम्पादकहरूसँगको सम्वादमा प्रधानमन्त्री कार्कीले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जेनजी आन्दोलनपछि जनमतको सम्मान गर्दै राजनीतिबाट विश्राम लिन सुझाव दिईन् ।
उनले देउवा, ओली र दाहाल भेट्न आए आफू भेट्न तयार रहेको स्पष्ट पारिन् । अहिलेपनि चुनावकेन्द्रित छलफलको लागि बालुवाटारबाट पत्राचार भएको भन्दै त्यसरी ठूला नेता आए सम्वाद गर्न तयार रहेको बताईन् । तर, आफू प्रधानमन्त्री भएपछि तीन ठूला नेतासँग फोनमा समेत कुराकानी नभएको उनको भनाई थियो ।
सरकार चुनावको तयारीमा जुटिसकेको भन्दै तोकिएकै मिति २१ फागुनमा निष्पक्ष चुनाव गराएर विदा हुने उनको घोषणा छ । ‘यो सरकारले चुनावको लागि तयारी गरेको छ । प्रहरीलाई चाहिने सामाग्रीको प्रवन्ध गरिएको छ, अहिले प्रहरीको उच्च मनोवल बनाउने कुरामा कुनै कसर बाँकी राख्दैन । चुनावको लागि चाहिने अत्यावश्क सामानको व्यवस्था हुन्छ।’–उनले भनिन् ।
सरकारले अहिलेसम्म कुनै विदेशी हस्तक्षेपको महशुस नगरेको पनि प्रधानमन्त्री कार्कीको प्रष्टीकरण थियो । आफूले प्रधानमन्त्री भएपछि सरकारी निवास बालुवाटारमा एकजना पनि विदेशी राजदूतसँग भेटवार्ता नगरेको उनको दाबी छ ।
वर्तमान सरकार चुनाव सम्पन्न गराउने उद्देश्यले गठन भएको भएपनि सुशासन कायम गर्न कटिबद्ध रहेको उनको भनाई थियो । प्रधानमन्त्री कार्कीले सरकार भ्रष्टाचारीलाई कारबाही गर्न तयार रहेको विश्वास दिलाईन् । उनले भनिन्,‘सरकार भ्रष्टाचारीलाई कारबाही गरेर निर्वाचनमा जान्छ । जेनजीका धेरै समूहहरु छन् । त्यो बढ्दै जान्छ । सबै समूहसँग मैले कुरा गरेको छु ।’
अब हुने मन्त्रिपरिषद् विस्तारमा जेनजीहरुलाई समेट्ने पनि उनले विश्वास दिलाईन् । पर्यटन मन्त्रालयको नेतृत्वमा भने बुझेको र निश्पक्ष छवि भएको विषयविज्ञ ल्याउने उनको घोषणा छ ।
राजदूतहरू फिर्ता बोलाउनुको कारण यस्तो
प्रधानमन्त्री कार्कीले सरकारले विभिन्न देशका ११ राजदूतहरु फिर्ता बोलाउनुको कारण उनीहरुले वर्तमान सरकारविरुद्ध लविङ गरेको र देशको हितमा आशातित काम नगरेको कारण देखाईन् । राम्रो काम गरेकाहरुलाई फिर्ता नबोलाएको उनको तर्क थियो । कतिपय राजदूतहरु आर्थिक आर्जनमा समेत लागेको उनको गम्भीर आरोप थियो ।
प्रधानमन्त्री कार्कीले आफ्नो सरकारमा सहभागी भएकाहरु चुनाव नलड्ने स्पष्ट पारिन् । तर, उर्जामन्त्री कुलमान घिसिङमात्रै चुनाव लड्ने भनेर आफूले सुनेको उनले उल्लेख गरिन् । उनले भनिन्,‘अहिले सरकारमा सहभागी हुनुभएका कोही पनि मन्त्री चुनाव लड्नुहुन्न । गृहमन्त्री ओमप्रकाशजीले त चुनाव गरेको भोलिपल्ट वकालतमा फर्किन्छु भन्नुभएको छ।’
काठमाडौंका मेयर बालेन्द्र शाहलाई भाइ भनेर सम्बोधन गरेकी प्रधानमन्त्री कार्कीले बालेनले आफ्नो कुरा नमान्ने स्विकारिन् । उनले भनिन्,‘बालेन शाह भाइ हुन्, यहाँ आउँछन् । भेट्छन् । आफ्नो कुरा राख्छन्, जान्छन् । मेरो कुरा मान्दैनन् । उनी आफ्नै किसिमको मान्छे हुन् । गृहमन्त्री हटाउने भन्ने कुरा जो आयो, म हटाउने पक्षमा छैन् ।’




प्रतिक्रिया