काठमाडौं, १५ कात्तिक । चौलोले प्रख्यात रहेको डडेल्धुरको प्रसिद्ध बडाल जाँत आल लाग्दैछ । जिल्लाको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल थलोमा हिजो राति (रतेडी) र आज दिउँसो (दिउसेडी) मेला लाग्दैछ ।
लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलो र भोक्करलेले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ।

शुक्ल नवमीका राति पूजा गरी, जाग्राम बसेर दोस्रो दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहेको छ। दाइन, दमाहा, रुइसिंग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुने गर्छ।
प्राचीनकालदेखि चलिआएको छलिया जाँत हेरेपछि देवी देवताको दर्शन र आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको छ । मेलामा स्थानीय अन्य गाउँबाट पनि देवरो ल्याउने चलन रहेको छ। कुजाकोट, रुमायल, बडाल, थप्सालगायतको स्थानबाट देवरो आउने गरेको भए पनि मूल देवरो भने मालीगाँउबाट ल्याउने चलन रहेको छ।

ढाल तरबार खेलाइ नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ। मेलामा स्थानीय स्तरमा उत्पादित हस्तकलाका सामग्रीका साथै कृषि उपजको व्यापारसमेत हुने गरेको छ।
दसैँ र तिहारजस्ता ठूला पर्व सकिएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा जात्राको रौनक सुरु हुन्छ। कार्तिक शुक्ल पक्षमा बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, बझाङलगायत जिल्लाका शक्तिपीठ तथा मन्दिरहरूमा जात्रा लाग्ने गर्दछन्।





प्रतिक्रिया