काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले केन्द्रीय कार्यसमितिले समयमै नियमित महाधिवेशन हुनेगरी निर्णय गर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले समयमै कांग्रेसको नियमित महाधिवेशन हुने बताएका हुन् । आगामी मंसिर मसान्तभित्र महाधिवेशन गर्ने आफूहरुको प्रयास रहेको र त्यो सकिएन भने १०÷१५ दिन समय थप्न सकिने उनले बताए ।
मेलमिलापाको नीति लिएर विश्वेश्वर प्रसाद कोइराला स्वदेश फर्किएको दिन पुस १६ गतेलाई महाधिवेशन उद्घाटनको दिन बनाइने तयारी रहेको पनि उनले बताए । ‘चुनाव अगाडि कांग्रेसको महाधिवेशन हुन्छ । म यसमा पूर्ण विश्वस्त छु । आज पनि अहिले पदाधिकारीको बैठक छ । हामी पुस १६ को तिथिलाई महाधिवेशन उद्घाटन दिनको रुपमा मनाऔं र कार्यकालभित्रै अधिवेशन गरौं भन्ने कोसिसमा छौं,’– उनले भने ।
‘हामी निर्वाचन अघि नै, हाम्रो अवधि पनि पूरा भएको । महाधिवेशन समय आइपुगेको हुनाले स्वभाविक समयमै महाधिवेशन गर्ने र महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर नयाँ उत्साह र उर्जाका साथ अगाडि बढ्ने तयारीमा रहेको उनले बताए । अहिले बाहिरी जनमत पनि अधिवेशनहरु सम्पन्न हुनुपर्ने, नेतृत्व नयाँ आउनुपर्ने, नयाँ मान्छेहरुले निर्वाचन लड्नुपर्ने, प्रचार अभियानमा पनि देशैभरी नयाँ मान्छे खटिइनुपर्ने, पुरानै नेतृत्व चयन गर्ने हो भने आफूलाई अपडेट गरेर अगाडि बढ्नुपर्ने परिस्थिति बनेको उनले बताए ।
साथै, उनले आफू पर्यटन मन्त्री हुँदा भ्रष्टाचारलाई न्यूनीकरण गर्नेगरी काम गरेको बताए । आफ्नो कार्यकालमा भएका कामकारबाहीमाथि प्रश्न उठेको खण्डमा जवाफ दिन र जिम्मेवारी लिन आफू तयार रहेको उनले बताए । आफू आफ्नो ठाउँबाट एकदमै पारदर्शी ढंगले काम गरिएको थियो भन्ने कुरामा विश्वस्त रहेको बताए । उनले आफू यसबारेमा खुल्ला छलफल गर्न तयार रहेको बताए ।




प्रतिक्रिया