काठमाडौं, १५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन भएको छ । हिजो (शुक्रबार) को विशेष राष्ट्रिय भेलाले ७५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नुका साथै महासचिवमा मिलन सी र प्रवक्तामा जितेन्दी सीलाई चयन गरिएको छ ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नव गठित नेपाल कम्युनिष्ट पार्टीले अहिलेको वस्तुस्थितिले सृजना गरेको तत्काल एकता र ध्रुवीकृत हुने, बन्ने वा गराउने सन्दर्भमा नेत्रविक्रम चन्द ‘विप्लव’ सँग आफूहरुको कुरा नमिलेकाले पार्टी पुनर्गठन गर्नुपरेको बताएको हो ।
आफूहरुले विभाजित अवस्थामा रहेको सम्पूर्ण माओवादी धारा, चौथो महाधिवेशनको धारा, क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु, वामपंथी पार्टीहरुबीच तत्काल एकता र ध्रुबीकरणको प्रस्ताव राखेको भए पनि विप्लवले त्यसलाई स्वीकार नगरेको बताइएको छ ।
पार्टीभित्र लामो समयदेखि छलफल, बहसहरु भएको र जेन–जी आन्दोलनपछि अन्तिम अवस्थामा पुगेर सबै कमयुनिस्ट एवम् क्रान्तिकारीहरु एकतावद्ध हुने परिस्थितिको अनिवार्य माग र चापबाट पछाडि फर्किएको आरोप महाचिव विप्लवमाथि रहेको छ ।
‘नवौ केन्द्रीय समितिको तेश्रो विशेष बैठकसम्म पुग्दा झण्डै ९० प्रतिसत स्थायी समिति, पोलिटब्युरो सदस्य र केन्द्रीय समितिका सदस्य कमरेडहरुले तत्काल पार्टी एकतागर्न नेतृत्वलाई सुझाव, सल्लाहा र समर्थन दिँदा पनि तत्कालै पार्टी एकतामा सहभागी बन्ने परिस्थिति बनेन यो अवस्थामा एकता, ध्रुवीकरणको वस्तुगत एवम् आत्मगत परिवेशलाई आत्मसाथ गर्दै एकतापक्षधर कमरेडहरु मिलेर नेपाल कम्युनिस्ट पार्टीलाई पुर्नगठन गर्नु पर्ने अवस्था बन्यो,’– नेपाल कम्युनिष्ट पार्टीका महासचिव मिलन सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
महासचिव मिलन सीले जेन–जी आन्दोलनलाई अमेरिकी साम्राज्यवादको सुनियोजित षड्यन्त्रमार्फत घटेको घटना हो भनेर विप्लवले व्याख्या गरेको बताए । त्यो निष्कर्ष सही र वस्तुगत नरहेको उनको भनाइ छ । उनले अहिले गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा जेन–जीहरुको सिफारिस र सबै दलहरुको सहमतिमा बनेको उनले बताए ।
महासचिव मिलनले आफू नेता भएर पार्टी चलाउन नेपाल कम्युनिष्ट पार्टीलाई पुनर्गठन नगरिएको बताए । उनले एकता र ध्रुबीकरणको ढोका खोल्नका लागि पार्टी पुनर्गठन गरिएको पनि प्रष्ट पारे । ‘अहिले जो हामीले पार्टी पुनर्गठन गरेका छौं, महासचिवको हिसाबले म आफैं नेता भएर पार्टी बनाएर चलाउने हिसाबले बनाएको होइन । हामीले एकता र ध्रुबीकरणको ढोकालाई खोल्न खोजेको हो । कम्युनिष्ट आन्दोलनभित्र जकडिएको भोटे ताल्चाजस्तो प्रवृत्ति देखिन्छ । मै हुँ जान्नेसुन्ने, मै हुँ क्रान्तिकारी । अरु सबै नक्कली कम्युनिष्ट भन्ने प्रवृत्ति देखिन्छ,’– उनले भने ।
उनले आफूहरुले एउटा सही कम्युनिष्ट पार्टी र आन्दोलन बनाएर अगाडि बढ्न चाहेको उनले बताए । मोहन वैद्यबाट छुट्टिएर नेकपा पुनर्गठन गरेको १२ वर्षसम्म विप्लवले आउटपुट दिन नसकेको उनको भनाइ छ । प्रचण्डले १० वर्षको जनयुद्धलाई रणनीतिक रुपमा अगाडि बढाएको, सात डिभिजन जनमुक्ति सेना बनाएको, देशभरीका राज्य सत्ताका क्याम्पहरु खोली गराएको र राजतन्त्र फाल्ने र गणतन्त्र ल्याउने भूमिका उनले खेलेको स्मरण गरे । अहिले विप्लवको नेतृत्वमा पार्टी पुनर्गठन गरेको १२ वर्ष हुँदा पनि कुनै प्रगति हुन नसकेको उनले बताए ।
महासचिव मिलनले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताए । होइन भने जेन–जी आन्दोलनभन्दा पनि ठूलो आन्दोलन नेपाली जनताले अगाडि बढाएर सरकारलाई बर्खास्ती गर्न सक्नुपर्ने बताए ।
‘तोकिएकै समयमा निर्वाचन हुन जरुरी छ । किन भने यो अन्तरिम सरकार हो । यसको काम निर्वाचन गराउने हो । कि त जेन–जी आन्दोलनभन्दा ठूलो आन्दोलन नेपाली जनताले अगाडि बढाउने, सरकारलाई बर्खास्ती गर्ने र काम अगाडि बढाउने,’– उनले भने ।




प्रतिक्रिया