केही राजनीतिक दलहरु मिलेपछि सबै कुरा हुन्छ भन्ने चिन्तनलाई जेन-जी आन्दोलनले झापड हान्योः कांग्रेस नेता काफ्ले


काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले अहिले सरकारले मात्रै जेन–जी आन्दोलनको भावना सम्बोधन गर्न नसक्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेन–जीहरुको भावना र एजेण्डालाई राजनीतिक दलहरुले बोक्नुपर्ने बताए । जेन–जी आन्दोलन भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको पनि उनले बताए ।

उनले जेन–जी आन्दोलनको सकारात्मक पक्ष केही राजनीतिक दलहरु मिलेको खण्डमा संसार नै हुन्छ भन्ने चिन्तनको अन्त्य गरिदिएको बताए । उनले भने, ‘केही राजनीतिक दलहरु मिल्यौं भने संसार नै हुन्छ भन्ने चिन्तनको विकासलाई चाहिँ यो आन्दोलनले ठूलो धक्का दिएको छ ।’

साथै, उनले कांग्रेसले निर्वाचनको स्वागत गरिसकेको पनि बताए । सरकारले शान्ति सुरक्षाको ग्यारेन्टी गरेको खण्डमा आफूहरु निर्वाचनमा जान तयार रहेको उनले बताए । निर्वाचनको दिशामा अगाडि बढ्न उनले सरकारलाई आग्रह गरे । ‘शान्ति सुरक्षाको ग्यारेन्टी सरकारले गरोस् । निर्वाचनलाई हामी सबै राजनीतिक दलका मान्छेहरुले स्वागत गरिसकेको अवस्था छ । तर, यो सरकारले त्यो सम्बन्धी काम गरेको छ कि छैन ? आज त्यो अवस्था छ कि छैन भन्ने कुरा हामीले विचार गर्नुपर्छ,’– उनले भने ।

साथै, राजनीतिक दलहरुले नागरिक समाजको रुपमा रहेका अगुवा व्यक्तिहरुलाई नटेरेको उनको भनाइ छ । समाजका विकृतिहरुलाई खबरदारी गर्नुपर्ने नागरिक समाजलाई राजनीतिक दलले स्थान दिन नसकेको उनले बताए । नागरिक समाज पनि बेथितिको विरुद्धमा नबोलेर चुप लागेर बस्नुपर्ने अवस्था रहेको बताए । राजनीतिक दलले गरेका बेथितिको कारणले जेन–जी आन्दोलन भएको उनले बताए ।

‘हामीले गरेको बेथितिको कारणले जेन–जी आन्दोलन भएको हो । हामी सचेत छौं– हामीले अबको नयाँ पुस्ताहरुलाई हामीले प्रश्नमात्रै गर्ने होइन । प्रश्नको उत्तरले मान्छेलाई जिम्मेवार बनाउँछ । त्यो दिशामा लाग्नका लागि हामीलाई खबरदारी भएको छ,’– उनले भने ।

साथै, जेन–जी आन्दोलनको एजेण्डालाई सम्बोधन गर्नेगरी कांग्रेसको १५औं महाधिवेशन हुने पनि उनले बताए । महाधिवेशनको बारेमा अहिले पक्ष विपक्ष बनेर छलफल भइरहेको पनि उनले बताए । कांग्रेसको केन्द्रीय समितिमा चार पुस्ताको सहभागिता रहेको अवस्थामा पक्ष र विपक्षमा वाद विवाद हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने उनले बताए । ‘हाम्रो दलभित्र महाधिवेशनको बारेमा छलफल भइराखेको छ । पक्ष विपक्ष रहन्छ । तर, जेन–जी आन्दोलनको एजेण्डालाई सम्बोधन गर्नेगरी कांग्रेसको अधिवेशन हुन्छ,’– उनले भने ।

साथै, उनले महाधिवेशनमाफर्त पार्टीको नेतृत्व परिवर्तन अनिवार्य रहेको उनले बताए । एउटै मान्छेले पार्टीको नेतृत्व गरिरहने कुरा नेपाली समाजलाई डाइजेस्ट नभएको उनको भनाइ छ । ‘नेतृत्व परिवर्तन अनिवार्य छ । एउटै मान्छेले नेतृत्व गरिरहँदा विकृति पनि आउँछ । हाम्रो नेपाली समाजमा पार्टीभित्रको एउटै व्यक्तिको नेतृत्वलाई हाम्रो समुदायले डाइजेस्ट गरेन । त्यही भएर हाम्रो पार्टी सभापतिले अहिले जिम्मेवारी दिनुभएको छ । अधिवेशन गर्नका लागि उहाँले जिम्मेवारी दिइसकेको अवस्था छ,’– उनले भने ।