काठमाडौं, १५ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले जेन–जी विद्रोहले निरन्तरतामा क्रम भंग गर्ने काम गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले जेन–जी विद्रोहका उपलब्धीहरु संरक्षण गर्नेतिर अब राजनीतिक दलहरु लाग्नुपर्ने बताए । देशमा गणतन्त्र स्थापना भएपछि संविधानको भावना र मर्मअनुसार पूर्ण रुपमा लागू गर्न नसकिएको उनले स्वीकार गरे । नेता शर्माले कर्मचारीतन्त्र र सुरक्षा निकायलाई पुनर्संरचना गर्न नसकिएको र जनतालाई डेलिभरी दिन नसकिएको उनले बताए ।
साथै, जेन–जी आन्दोलनको क्रममा गत भदौ २४ गते देश ध्वंस हुँदैगर्दा सुरक्षा निकाय, गुप्तचर र सरकारमा बसेका व्यक्तिहरुले सुइँको समेत नपाएको भन्दै उनले त्यसलाई दुर्भाग्यको संज्ञा दिए । उक्त घटनाको छानविन समिति बनेको भए पनि त्यसले ठीक ढंगले विषयवस्तुलाई अगाडि बढाउन नसकेको उनको भनाइ छ ।
‘यत्रो विद्रोह हुँदैगर्दा, २४ गतेको ध्वंस हुँदैगर्दा सुरक्षा निकायहरु, गुप्तचरहरु र सरकारमा बसेका मान्छेहरुले सुइँको नपाउनु एकदम ठूलो दुर्भाग्य हुन गएको छ । सरकारको पनि स्पष्ट नीति छैन । छानविन समिति बनेको छ, त्यसले पनि ठीक ढंगबाट विषयवस्तुलाई अगाडि बढाएको छैन,’– उनले भने ।
आन्दोलन सकिएपछि जेन–जीहरुले आफ्ना मागहरुलाई सही ढंगबाट टेबलिङ गर्न पनि नसकेको उनको भनाइ छ । जेन–जीहरुको एजेण्डाहरु अल्मलिएको र आन्दोलन नै अपहरित भएको उनको टिप्पणी छ । साथै, जेन–जी प्रदर्शनकारीहरुलाई काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले उक्साउँदा मुलुक धेरै पछाडि फर्किएको उनको आरोप छ ।
नेता शर्माले जेन–जीहरुको माग प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, भ्रष्टाचार निर्मूल, सुशासन कायम गर्ने माग भए पनि ती मागहरुलाई थाँती राखिएको बताए । संसद् विघटन नगरीकन जेन–जी र सरकार पक्षबीच प्रत्यक्ष निर्वाचित कार्यकारीको चुनाव गराउने गरी संविधान संशोधनको सम्झौता हुनुपर्नेमा जेन–जी आन्दोलन चुकेको उनले बताए ।
साथै, उनले मंसिरको अन्तिम साता माओवादी केन्द्रले एकताको महाधिवेशन गर्ने बताए । ‘मंसिरको अन्तिम साता एकताको महाधिवेशन गर्ने हामीले तयारी गरेका छौं । वामपन्थी विचार धारा राख्ने विभिन्न १० वटा घटकहरु, विभिन्न पार्टी र समूहमा छरिएर रहेकाहरुलाई एकतावद्ध गर्दै समग्र वामपन्थी ध्रुबीकरणको ढोका खोल्नका लागि माओवादी केन्द्र अगाडि बढेको छ,’– उनले भने ।
साथै, माओवादी केन्द्रले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टी अध्यक्षभन्दा पनि माथि राख्न खोजिरहेको उनले बताए । माओवादी केन्द्रले महाधिवेशनबाट ५० प्रतिशतभन्दा पनि युवाहरुको सहभागिता गराएर जेन–जी आन्दोलनको एजेण्डलाई सम्बोधन गर्ने पनि उनले बताए ।
‘प्रचण्डलाई अध्यक्षभन्दा पनि अझ माथि राख्न चाहन्छौं हामी । प्रक्रिया र पद्धतिअनुसार महाधिवेशनमा गएर हामी छलफल गर्नेछौं । माओवादी केन्द्रमा ५० प्रतिशतभन्दा बढी युवाहरुको सहभागिताको बारेमा पनि कुरा उठिरहेको छ,’– उनले भने ।
त्यस्तै, तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा पनि उनले जोड दिए । तर, निर्वाचनतिर सरकारले गम्भीरतापूर्वक ध्यान नदिएको उनले बताए । निर्वाचनको वातावरण तयार गर्न उनले सरकारसमक्ष माग गरे । ‘तोकिएको निर्वाचन, फागुन २१ गतेको निर्वाचनमा हामी सहभागी हुन्छौं र यो निर्वाचन गर्नुपर्छ । तर, यो निर्वाचन गर्नेतर्फ सरकारको गम्भीरता मैले देखेको छैन । त्यो अनुसारको वातावरण सरकारले बनाइराखेको स्थिति छैन,’– उनले भने ।




प्रतिक्रिया