बालेनलाई गिरफ्तार गर्न एमाले नेताको माग


काठमाडौं, कार्तिक १६ । नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’लाई तुरन्त गिरफ्तार गर्न सरकारसँग माग गरेका छन्।

मेयर शाहले शनिबार मध्यरातमा एमालेसहित नेपालका राजनीतिक दलहरूलाई अश्लील शब्द प्रयोग गर्दै स्टाटस लेखेपछि रिजालले बालेनलाई सिंहदरबार जलाउने मतियार रहेको आरोप लगाउँदै तत्काल पक्राउ गर्न गृहमन्त्री ओमप्रकाश अर्यालसँग माग गरेका हुन्।


नेता रिजालले आज बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन्। नेपालमा गाँजा प्रतिबन्धित छ । गृहमन्त्री मप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ। नत्र अराजकता र मुठभेड बढ्छ।’

मेयर बालेनले शनिबार मध्यराति अंग्रेजीमा अश्लील शब्द प्रयोग गरी अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई गाली गरेका थिए। तर व्यापक आलोचना हुन थालेपछि उनले केही बेरपछि त्यो स्टाटस हटाएका थिए। तर त्यसको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ।