कांग्रेसको एजेन्डा निर्वाचन हो, संसद् पूनःस्थापना होइन : राजेन्द्र केसी


काठमाडौं, कार्तिक १६ । नेपाली कांग्रेसका नेता राजेन्द्र केसीले नयाँ नेतृत्व, नवीन नीति, उत्साही उर्जाका साथ कांग्रेस निर्वाचनमा जाने बताएका छन् । सरकारले आगामी फागुन २१ गतेका लागि तोकेको निर्वाचन अघि नै पार्टीको नियमित महाधिवेशन हुने बताउँदै उनले मंसिरको अन्तिम साता पार्टीको १५ औँ नियमित महाधिवेशन सुरु हुने जानकारी दिए ।

नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले आम जनताको परिर्वतनको चाहाना अनुसार कांग्रेस सच्चिएर, सुध्रिएर अहिलेसम्म भएका कमि कमजोरीलाई सुधारेर जनतालाई अनुभुती दिनेगरी जनताको दैलोमा जाने बताए।

उनले भने, ‘कांग्रेसको एजेन्डा निर्वाचन हो, संसद पुर्नस्थापना होइन् । सरकारले निर्वाचनको लागि वातावरण बनाउनुपर्छ । कैदी हतियारसहित जेलबाट भाग्नु भनेको संसारमा सबैभन्दा ठूलो अपराध मानिन्छ । यस्तो अवस्थामा स्वच्छ निर्वाचन हुनेमा शंका उत्पन्न हुने देखिन्छ । आम जनतालाई ढुक्क भएर मतदान गर्ने अवस्था नभएसम्म निर्वाचनको वातावरण तयार हुँदैन् । जेलबाट भागेका जेन-जी कैदीहरुले अत्याधुनिक हतियार चलाउन सक्ने भएकाले सरकारले निर्वाचनमा सुरक्षामा ध्यान दिनुपर्छ । सुरक्षा निकायको मनोबल उच्च पार्दै सरकारले उम्मेदवारको सुरक्षाको ग्यारेन्टी दिलाए मात्रै निर्वाचन सफल हुन्छ । मुलुकलाई जिताउन पार्टीहरु निर्वाचनमा होमिनुपर्छ । पार्टीहरुले निर्वाचन बहिस्कार गरेर मुलुकले निकास पाउँदैन् ।’

पूर्वमन्त्री समेत रहेको नेता केसीले अहिले पार्टी भित्र एउटा समूह मंसिर भित्रै नियमित महाधिवेशन गर्नुपर्ने अडानमा रहेको र अर्को समुहले निर्वाचन अघि अधिवेशनमा जाँदा वडादेखि केन्द्रसम्म हुने नेतृत्व विवादले पार्टीलाई कमजोर बनाउन सक्ने भन्दै महाधिवेशनलाई निर्वाचनपछि सार्न चाहेको बताए । मंसिरको २७ गते भित्र कांग्रेसको वडा अघिवेशन सुरु हुने जानकारी दिदै नेता केसीले पार्टीमा जेन-जी युवाहरुको सहभागीतालाई कांग्रेसले प्राथमिक्ता दिने भनाई राखे ।

‘कांग्रेसले २००७ देखि अहिलेसम्मका परिवर्तनको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेपनि इतिहासमा पहिलो पटक पार्टीको विरुद्धमा विद्रोह भएको, नेताहरुको घर जलाइएको छ । सम्पत्ती लुटपाट भएको छ । पाटी सभापतिमाथी कुटपिट भएको छ । युवाहरुको परिर्वतनको चाहाना अनुसार नयाँ पुस्तालाई अगाडी ल्याउनेगरी अघि बढ्नुपर्छ । पुराना राजनीतिक दलहरुले सुसाशन र भष्ट्राचारमुक्त समाज निर्माण गर्न सकेको भए, जनतालाई विकास दिन सकेको भए अहिलेको अवस्था आउने थिएन् । अव सकिने कि सुध्रिने अवस्थाबाट कांग्रेस माथी उठ्नुपर्छ ।’ उनले भने ।