रामकुमारी झाँक्री एकीकृत समाजवादीमा टिकिराखेको देख्दा म आश्चर्य चकित भएको छुः सचिव पाण्डे (भिडिओसहित)


काठमाडौं, १६ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का सचिव सोमप्रसाद पाण्डेले रामकुमारी झाँक्री पार्टीमा टिकिराखेको देख्दा आश्चर्य चकित भएको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता पाण्डेले एकीकृत समाजवादी छाड्न झाँक्रीले धेरै पहिलादेखि नै बल गरेको बताएका हुन् । एमालेबाट स्वीकार्य नभएको कारणमात्रै झाँक्री एकीकृत समाजवादीमा टिकिराखेको हुनसक्ने उनको आँकलन छ ।

‘उहाँले त अहिलेदेखि होइन, धेरै पहिलादेखि हो नि । उहाँले यो पार्टी छोड्नको निम्ति धेरै कोशिस गर्नुभयो । तर, उताबाट स्वीकार्य भएन कि के भयो मलाई थाहा छैन । हुन त सबैलाई भन्नुभएको छ–बाटो बाटौ भौतारिने होइन, सतल पाटी खोज्दै हिँड्ने होइन, तपाईँहरुले नै बनाएको घर हो त । यही आएर बस्नु्स् न त भन्नुभएको छ । उहाँको भनाइ पनि के हो, त्यो थाहा छैन । उहाँ (रामकुमारी झाँक्री) किन अहिलेसम्म यही पार्टीमा टिकिरहनुभएको छ भन्ने कुरा म आफैं आश्चर्यचकित छु्,’– उनले भने ।

साथै, महासचिव घनश्याम भुसालले एकतालाई समर्थन गर्न सक्दिनँ नभनेको उनले बताए । सम्मानित नेता झलनाथ खनालले भने सहभागी हुन्न भन्ने कुरा प्रष्टसँग भनेको उनले बताए ।

सचिव पाण्डेले अब छिट्टै माओवादी केन्द्रसँग एकता हुने पनि बताए । अबको दुई/तीन दिनभित्र सबै कुरा टुङ्ग्याएर एकताको प्रक्रियामा अगाडि बढ्ने उनले बताए । तर, पार्टीको नामको विषयमा भने अझै टुङ्गो नलागेको उनले बताए । नेपाल कम्युनिष्ट पार्टीको नाम भने नछाडिने उनले बताए । ‘नेपाल कम्युनिष्ट पार्टी नछाडिकन हामी नाम राख्छौं,’– उनले भने ।