काठमाडौं, १६ कात्तिक । नेपाल लिबरल पार्टीका सभापति प्रा.डा.गोपीलाल न्यौपानेले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको विकल्प नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको विपक्षमा जानेहरु देशविरोधी रहेको बताएका हुन् । उनले अब निर्वाचन आउन जम्मा ४ महिना रहेको अवस्थामा प्रधानमन्त्री कार्कीभन्दा अर्को सर्वमान्य व्यक्ति पाउन गाह्रो रहेको बताए । अब देश निर्वाचनमा जानुपर्ने र त्यसपछि जनताको जनमत पाउनेले शासन सञ्चालन गर्ने पनि उनले बताए ।
‘हामी यो सरकार चाहने मान्छे हौं । यो सरकारको विपक्षमा जानेहरु देशविरोधी हुन् । किनभने जम्मा ४ महिना निर्वाचनको समय बाँकी छ । फेरि सर्वमान्य सरकार तत्कालै बन्न सक्दैन । र यो सरकारलाई निरन्तर लामो समयसम्म लान पनि हुँदैन । हामीले निर्वाचन नै हो गर्ने । निर्वाचनमा जानुपर्छ । जनताको जनमत जसले पाउँछ, उसले शासन गर्छ,’– उनले भने ।
नेता प्रा.डा. न्यौपानेले यो सरकारलाई हटाउने प्रयास गरिएमा गम्भीर गल्ती हुने र देश फेरि आगोमा जल्ने बताए । देश आगोमा बलिरहेको बेलामा प्रधानमन्त्री कार्की आएर नै निभाएको उनले बताए । ‘यही सरकार रहन पर्छ । यसलाई हटाउने काम गम्भीर गल्ती हुन्छ र देश फेरि अर्को आगोमा जल्छ । जतिखेर यहाँ देशमा आगो बलिरहेको थियो, त्यतिखेर कुन बहादुर आएर यो आगो निभायो त ? सुशीला कार्कीजी नै चाहियो नि । उहाँ प्रधानमन्त्री भएपछि आगो बल्न छोड्यो नि त ?’ प्रश्न गर्दै उनले भने ।




प्रतिक्रिया