माधव सयपत्रीको ‘माला’ कथासङ्ग्रह बजारमा


काठमाडौँ, १६ कात्तिक । कथाकार माधव सयपत्रीको कथासङ्ग्रह ‘माला’ बजारमा आएको छ । परिचय पब्लिकेसनद्वारा प्रकाशित सङ्ग्रहमा आजदेखि बजारमा आएको कथाकार सयपत्रीले जानकारी दिए ।

कथासङ्ग्रहमा २२ कथा र तिनमा प्रेम र मानवीय संवेदना समेटेका छन् भने मानिसका ढोङ्ग र आडम्बरका मुखौटा च्यात्दै विद्रोहका भावसमेत छचल्किएका छन् । सरल र सरस शैलीमा लेखिएका सयपत्रीका कथालाई समकालीन नेपाली साहित्यका प्रतिनिधि कथा भन्न सकिने उनको भनाइ छ ।

शिक्षण पेसाबाट निवृत्त कथाकार सयपत्री समाजको पिँधमा रहेका भुइँमान्छेका कथा लेख्न रुचाउने लेखक हुन् । उनका कथामा ग्रामीण जनजीवनको झल्को पाइन्छ भने महिला, बालबालिका, उत्पीडित वर्गका साथै सामाजिक तथा राजनीतिक विकृति पनि उनको लेखनका मूल विषयवस्तु रहँदै आएका छन् ।

रामेछाप मन्थलीका स्थायी बासिन्दा सयपत्रीका यसअघि ‘सत्ताकवच’, ‘मखमलीका राजाहरू’ र ‘बादसाहको आटोग्राफ’ कथासङ्ग्रह एवम् ‘सीमान्त विचलन’ उपन्यास प्रकाशित छन् ।