काठमाडौं, कार्तिक १७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीभित्र अवसरहरुको वितरण समानुपातिक र न्यायोचित तवरले नहुँदा कांग्रेसका ८० प्रतिशत नेता कार्यकर्ता खुसी नरहेको बताएका छन् । नेपाली कांग्रेसलाई प्रजातान्त्रिक तवरले चल्ने पार्दर्शी पार्टी बनाउनुपर्ने, निश्पक्ष निर्णय दिन सक्ने र देशको नेतृत्व लिन सक्ने पार्टी बनाउन आवश्यक रहेपनि लामो समयदेखि पार्टीमा सिमित नेताहरुले आफ्नो अनुकूल अवसर वितरण गर्दा ८० प्रतिशत सच्चा कांग्रेस प्रेमी नेता/कार्यकता खुसी नरहेको उनले बताए ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषिधमलासँग बोल्दै उनले अहिले कांग्रेस विभिन्न आन्तरिक उल्झनमा फसेको र विधानअनुसार केन्द्रीय समितिले महाधिवेशन, संगठन विस्तारलगायतका निर्णयलाई कार्यान्वयनमा लैजान नसक्दा पार्टीभित्र आजको अवस्था आएको धारणा राखे ।
उनले भने, ‘नेपाली कांग्रेसलाई प्रजातान्त्रिक तवरले चलाउनु पर्ने, पार्टीलाई पार्दर्शी पार्टी बनाउनुपर्ने, निश्पक्ष निर्णय दिन सक्ने र देशको नेतृत्व लिन सक्ने पार्टी बनाउन आवश्यक छ । तर, कांग्रेसभित्रको आन्तरिक जीवनलाई बढावा दिनका लागि, पार्टीलाई सशक्त बनाउनका लागि अवसरहरुको वितरण समान किसिमले हुनुपर्ने देखिएको छ । अहिलेसम्म समानुपातिक र न्यायोचित किसिमले अवसरहरु वितरण नहुँदा शीर्ष नेताहरुले आफ्नो अनुकूलले अवसरको प्रयोग गरे । जसबाट ८० प्रतिशतभन्दा बढी सच्चा कांग्रेसहरुका नेता कार्यकर्ता खुसी छैनन् ।’
शीर्ष नेताहरुको काम कारवाहीबाट आठ लाख ८० क्रियाशील सदस्य रहेको पार्टीभित्र ८० प्रतिशत कांग्रेसका नेता/कार्यकर्ता खुसी नरहेको उनको भनाई छ । नेता महरले कांग्रेसभित्र युवा नेतृत्वको आवश्यकता रहेको र नियमित महाधिवेशनमार्फत पार्टी अघि बढ्नुपर्नेमा समेत जोड दिए ।




प्रतिक्रिया