माओवादी र एकीकृत समाजवादीबीचको एकता राजनीतिक गणित र अस्तित्व रक्षाको सम्झौता होः एमाले नेतृ अर्याल (भिडिओसहित)


काठमाडौं, १७ कात्तिक । नेकपा (एमाले) की सचिव एवं पूर्व मन्त्री पद्मा अर्यालले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले अस्तित्वको रक्षाका लागि एकता गर्न लागेको बताएकी छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी र एकीकृत समाजवादीसहितको एकतालाई अस्तित्व रक्षा र राजनीतिक गणितको सम्झौतामात्रै रहेको बताएकी हुन् । उनले भनिन्, ‘यो कुनै विचारको एकता होइन । राजनीतिक गणित र अस्तित्व रक्षाको सम्झौता हो । कम्युनिष्ट पार्टीलाई मूलधारको रुपमा स्थापित गर्ने कुरा पनि होइन ।’

एकताको कुरा गर्नेवित्तिकै एकीकृत समाजवादीमा झलनाथ खनाल, घनश्याम भुसाललगायतको टिम बाहिरिएको उनले बताए । माओवादीमा पनि एकताको कुरालाई लिएर जनार्दन शर्माको टिमले आपत्ति जनाइरहेको उनले स्मरण गराईन् । उनले एकता भएको भन्दै माओवादी र एकीकृत समाजवादी फेरि फुटिरहेको बताईन् ।

‘समाजवादी पार्टी एकताको कुरा गर्यो । त्यसपछि झलनाथजी, घनश्यामजीहरुको टिम बाहिरिने खालको स्थिति बन्यो । त्यसैगरी माओवादी पार्टीले एकताको प्रस्ताव गर्यो, त्यसले जनार्दन टिमलाई बाहिर पठाउने काम गरेको छ । एकता भएको भन्दै फेरि फुटिन्छ, यस्तो पनि एकता हो त ?’ प्रश्न गर्दै उनले भनिन् ।

एमालेलाई बाहिर राखेर गरिने वामपन्थी एकताको कुनै मिनिङ नरहेको उनको भनाइ छ । एकीकृत समाजवादीबाट धेरै नेता तथा कार्यकर्ताहरु एमालेमा फर्किने उनको दाबी छ । एकीकृत समाजवादी छोडेर आउने नेता तथा कार्यकर्तालाई एमालेले हृदयदेखि नै स्वागत गर्ने उनले बताईन् ।