मंसिरभित्रै पार्टीको नियमित महाधिवेशन गर्न पार्टीलाई दबाव दिएको नैनसिंह महरको खुलासा


काठमाडौं, कार्तिक १७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मंसिरभित्रै पार्टीको नियमित महाधिवेशन गर्न दवाव दिएको खुलासा गरेका छन । नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको अन्तरवार्ताका क्रममा उनले इतर समूहका नेता डा. शेखर कोइरालासहित पार्टीका तीनजना नेतासँग मिलेर तीन महिना अघि नै मंसिरभित्रै महाधिवेशन सम्पन्न हुनुपर्छ भनेर लिखित प्रतिवेदन केन्द्रीय समितिमा पेश गरेकाले आफू अझैपनि नियमित महाधिवेनकै पक्षमा रहेको बताए ।

उनले भने, ‘पदाधिकारीहरुले लिएको जिम्मेवारी पुरा नगर्ने बानीले चारवर्ष भित्रै हुनुपर्ने महाधिवेशन अव एक महिनामात्रै बाँकी रहेकाले पार्टी अल्झनमा फसेको छ । केन्द्रीय समितिको बैठकमा आवश्यक प्रस्ताव समेत नआउनु दुभाग्य हो । यसले केन्द्रीय समितिको समग्र स्वायत्तमाथी समस्या पैदा गरेको छ । पार्टी विधानले नचिनेको पदाधिकारी बैठकको निर्णयले चलेको छ । केन्द्रीय समितिको बैठकबाट आवश्यक निर्णय भएन । पार्टीभित्र सभापति, उपसभापति र महामन्त्रीकातर्फबाट हुनुपर्ने कार्यसम्पादनबारेका अन्यौलताको परिणाम अहिले देखिदैछ ।’

तीन पटक सांसद र तीन पटक भन्दा बढी कार्यकाल केन्द्रीय सदस्य बन्न नपाउने व्यवस्था लागू गरे ताप्लेजुङदेखि बैतडीसम्म कांग्रेसमा लहर देखिने उनको भनाई छ । अव कांग्रेसलाई प्रजातान्त्रिक तवरले चलाउन आजश्यक रहेको बताउँदै उनले जिम्मेवारी बहन गर्न सक्ने, दूरदर्शी क्षमता भएको र प्रयोग भइनसकेको युवा भोट माग्न आओस भन्ने जनतामा चाहानामा रहेकाले पार्टी भित्रका पुरानै अनुहारलाई लिएर जनतामा भोट माग्न जान नसकिने धारणा राखे ।