सहकारी पीडितहरुले गरे अर्धनग्न प्रदर्शन, कात्तिक २७ गते सरकारविरुद्धको आन्दोलन घोषणा


काठमाडौं, १७ कात्तिक । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले बचतकर्ताको बचत रकम ३६ महिनासम्म फिर्ता नभएको भन्दै अर्धनग्न प्रदर्शन गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले वर्तमान सरकारले पनि आफूहरुको माग सुन्न नचाहेको दुखेसो पोखेका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका कुशलभ केसीले सहकारी बचतकर्ताहरुको अवस्था नाङ्गो भइसक्यो भन्ने प्रतीकात्मक सन्देश दिनका लागि अर्ध नग्न प्रदर्शन गर्नुपरेको बताए । ‘अब कानुनी राज्यमा हामी छैनौं । हाम्रो अवस्था नाङ्गो भइसक्यो । यो अवस्था हेर भनेर हामीले देखाएको हो । हामीलाई रहर होइन, बाध्यता हो,’– उनले भने ।

केसीले आफूहरुले सहकारी पीडितको बचत फिर्ताको लाडि प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललगायतसँग कुराकानी गरेको बताए । प्रधानमन्त्री कार्कीले आफूहरुसँग आफ्नो उद्देश्य चुनाव गराउने र सहकारी पीडितको बचत फिर्ता गराउने बताए पनि केही काम नगरेको उनले बताए । हामी वार्तामार्फत समस्याको समाधान खोजौं, आन्दोलन गर्दैनौं भन्दा पनि आफूहरुले न्याय नपाएको उनले बताए ।

सहकारी घोटलामा राजनीतिक दलको संलग्नता रहेकै कारण कुनै कारबाही नभएको उनले बताए । उनले आगामी कात्तिक २७ गते बिहीबार आन्दोलन गर्ने बताए । अबको आन्दोलन २०६२÷०६३ को आन्दोलनभन्दा पनि ठूलो हुने उनको चेतावनी छ । ‘राजनीतिक दलहरुको संलग्नता भएकै कारणले गर्दा आज बचतकर्ताको रकम फिर्ता आएको छैन । अहिलेको वर्तमान सरकारलाई पनि हामीले पटक–पटक हार गुहार गर्दा पनि बचत फिर्ता नभएको कारणले गर्दा, अस्ती भर्खरै प्रधानमन्त्रीज्यूसँग वार्तामा बस्यौं । कुराकानी भयो, सहमति केही पनि भएन,’– उनले भने ।