भोलीदेखि प्रचण्ड ‘नेपाली कम्युनिष्ट पार्टी’का संयोजक : शक्तिबहादुर बस्नेत


काठमाडौं, कात्तिक १८ । नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले भोली बुधबार हुने पार्टी एकतापछि ‘नेपाली कम्युनिष्ट पार्टी’ को जन्म हुने घोषणा गरेका छन् । आसन्न २१ फागुनको प्रतिनिधिसभा निर्वाचन केन्द्रित गरेर माओवादी र एकीकृत समाजवादीलगायत आठ दल–समूहले भोली राजधानीको भृकुटीमण्डपमा गर्ने एकता घोषणापछि नेपाली विशेषतासहितको नेपाली कम्युनिष्ट पार्टीको निर्माण हुने उनले सार्वजनिक गरेका हुन् ।

नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा नेता बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सह–संयोजक बनेर नेपाली कांग्रेस जस्तै भोलीदेखि नेपाली कम्यूनिष्ट पार्टीको जन्म हुने र त्यसपछि सेतो पुष्टभूमीमा पाँच तारे रातो तारा चुनाव चिन्ह लिएर निर्वाचनमा होमिने बताए ।

उनले भने, ‘अहिले वाम एकतासँगै एकतापछि हुने पार्टीको नामको विषयमासमेत छलफल भइरहेको छ । नेपाली कांग्रेसजस्तै नेपाली कम्युनिष्ट पार्टीमा प्रायः सहमती नजिक पुगेका छौ । भोली नेपाली विशेषतासहितको नेपाली कम्युनिष्ट पार्टी घोषणा हुनसक्छ । नेपाली कम्युनिष्ट पार्टीले नेपाली विशेषतासहितको समाजवादको अध्ययन गर्छ । संयोजक र सह–संयोजकको मोडलमा अघि बढ्ने पार्टी भित्र अहिलेको आवश्यकता अनुसार केन्द्रीय समितिभित्रको संरचना निर्माण हुन्छ । जसमा केन्द्रीय समिति, राजनीतिक समिति (पोलिटब्युरो), सचिवालय र कार्यसंयोजन समिति हुनेछ ।’

यद्यपि, पार्टीभित्र केही असहमति रहेका भए पनि तीलाई छलफल र सहमतिमार्फत समाधान गर्दै अघि बढ्ने उनले बताए। प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सह–संयोजक रहने उनको भनाई छ । नेपाली कम्युनिष्ट पार्टीमा जेन–जी पुस्ता, महिला, युवादेखि वयोबृद्धसम्मको सहभागीता रहने जानकारी दिँदै उनले वामपन्थी शक्तिहरूको एकता अहिलेको राजनीतिक आवश्यकता भएकाले एकता मुलुकलाई एकतावद्ध गराएर निकाशको बाटोमा हिडाउन नयाँ विचार, सोचसहित नयाँ मार्गचित्र तयार भइरहेको बताए ।

माओवादी नेतृत्वको सरकारले नै भ्रष्ट्राचार र सुशासन सहितको समाजको अवधारणा अघि सारेको दाबी गर्दै उनले उक्त अभिभारालाई पुरा गर्न, राष्ट्र र राष्ट्रियताको संरक्षण गर्न वाम एकताको मार्ग रोजेको जनाए । उनले राजनीतिक कार्यक्रम, तत्परता र इमान्दारितासहित भोलीको एकता अभियानमा सहभागी हुन एकीकृत समाजवादी र माओवादी भित्र असुन्तुष्ट नेतालाई आग्रहसमेत गरेका छन् ।