जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्ने


काठमाडौं, कार्तिक १८ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् । माओवादी केन्द्रले भोली नेकपा (एकीकृत समाजवादी)सहितका दलसँग गर्न लागेको पार्टी एकताविरुद्ध उभिएका नेता शर्माले आज दिउँसो साढे दुई बजे ललितपुर बखुण्डोलस्थित सत्कार क्याफेमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

१० वर्षे जनयुद्धका एक कमाण्डरसमेत रहेका उपमहासचिव शर्मा एकताको विपक्षमा उभिएका छन् । माओवादी केन्द्रले आज महाधिवेशन आयोजक समितिको बैठकमार्फत भोलि बुधबार हुने वाम एकताबारे अनुमोदन गर्ने तयारी गरेपछि नेता शर्माले आफ्नो विचार सार्वजनिक गर्न विशेष पत्रकारसम्मेलन बोलाएका हुन् ।

उनले यसअघि नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नेकपासहितको एकता प्रक्रियामा आफू सहभागी नहुने प्रस्ट पारिसकेका छन्। शर्माले आइतबार प्रचण्ड निवासमा पुगेर अहिले पार्टी भित्र संघर्ष गर्दै जाने बताउँदै आफू वाम एकतामा सहभागी नहुने जनाएका थिए ।