काठमाडौं, कार्तिक १८ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीका सबै सदस्यहरुको मतलाई संकलन गरेर सदस्यहरुको धारणामाथि विभिन्न छलफल र बहस गर्दै सर्वसम्मत निर्णयमार्फत १५ औँ महाधिवेशनको मिति सार्वजनिक गरिने बताएका छन् । नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले पार्टीका सबै सदस्यहरुको धारणामाथि छलफल गरेर महाधिवेशनको मिति तोक्न समय लागेकाले सबैलाई सर्वसम्मत हुने निणर्य सार्वजनिक गरिने बताएका हुन् ।
उनले भने, ‘अन्य पार्टीहरुमा एकल मतको आधारमा निणर्य हुने भएकाले तुरुन्तै निणर्य गर्न सहज छ । कांग्रेस प्रजातान्त्रिक पार्टी भएका हिसाबले सबै सदस्यहरुको धारणा संकलन गरेर उहाँहरुका धारणामाथि छलफल गरेर महाधिवेशनको मिति तोक्ने काम हुँदैछ । महाधिवेशनको मिति सार्वजनिक गर्न समय लागेपनि सर्वसम्मत निणर्य सार्वजनिक गर्छौ । हतारमा निर्णय गरेर कांग्रेसबाट अलोकतान्त्रिक निणर्य हुँदैन ।’
फागुन २१ गतेको निर्वाचन अघि नै महाधिवेशन सम्पन्न गर्न युद्धस्तरमा काम गरेमात्रै सम्भावना रहेको जनाउँदै नेता विश्वकर्माले परिस्थितिअनुसार फागुनको निर्वाचनमा एकमत भएर भाग लिनुपर्ने भएकाले महाधिवेशनको विषय पार्टीभित्र पेचिलो बनेको बताए । विशेष महाधिवेशन माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको हस्ताक्षर कारण केन्द्रीय कार्यसमितिको बैठकले स्पष्ट निणर्य सार्वजनिक गर्न नसकेको उनको भनाई छ ।
अहिले पार्टीलाई एकढिक्का बनाएर, सबै लचिलो बनेर, एकअर्काको विचारलाई सम्मान र सम्बोधन गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताउँदै उनले चलिरहेको कांग्रेस केन्द्रीय समितिको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरे विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिले चित्त बुझाउने धारणा राखेका छन् ।
उनले भने, ‘केन्द्रीय समितिले महाधिवेशनको मिति तोक्न नसके हस्ताक्षर दर्ता गर्ने महाधिवेशन प्रतिनिधिलाई सम्झाउन र बुझाउने प्रयासमा नेतृत्व लाग्नुपर्छ । यदी उहाँहरुले नमाने स्वतः महाधिवेशन बोलाउनुपर्छ । नियमिति महाविधेशनको कार्यतालिका तर्क संगतरुपमा सम्भावित मितिमा सार्वजनिक भए विशेष माहाधिवेशन माग गर्ने पक्षलेसमेत चित्त बुझाउन्छन ।’




प्रतिक्रिया