काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गुमेको भरोसा र विश्वास पुनर्प्राप्तिका लागि आम निर्वाचन अगावै पार्टीको १५औं महाधिवेशन जरुरी रहेको बताएका छन् । केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका प्रस्ताव पेश गर्दै उनले कांग्रेसले नेतृत्व बदलेर नयाँ वैचारिकी र सैद्धान्तिकीमार्फत विश्वास पुनर्प्राप्ति गर्नुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘कांग्रेसले आफ्नो नेतृत्व बदलेर नयाँ वैचारिकी र सैद्धान्तिकीमार्फत त्यो गुमेको भरोसा र विश्वास पुनर्प्राप्त गर्न सक्छ । त्यसका लागि आम निर्वाचन अगावै अधिवेशन जरुरी छ । एक्काइसौं शताब्दीको लोकतान्त्रिक पार्टीले तिब्र गतिमा बदलिएको राष्ट्रिय राजनीतिक परिस्थितिलाई अन्देखा गरेर, अकर्मण्य भएर किमकर्तव्यविमुढ हुँदै कालक्षेपण गर्दै बस्न मिल्दैन ।’
राष्ट्रिय राजनीतिक परिस्थितिलाई अन्देखा गरेर, अकर्मण्य भएर किमकर्तव्यविमुढ हुँदै कालक्षेपण गर्दै बस्न नहुने उनको भनाइ छ । विकसित राजनीतिक परिस्थिति अनुरूप पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक हस्तान्तरण गरेको र अर्कोतर्फ देशभरका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुले विशेष अधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको अवस्थामा उल्लेख गर्दै उनले परिस्थितिको तकाजा बुझेर राष्ट्रिय लक्ष्य भेदन गर्न युद्धस्तरमा कार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
राष्ट्रिय राजनीतिमा आएको उथुलपुथलकारी बदलाबपछि पनि पार्टीको नीति र नेतृत्वको संरचनागत परिवर्तन नगरी निर्वाचनमा जानु चरम आत्ममुग्धता वा मूढता हुने उनको बुझाइ छ । उनले अहिलेको समय कांग्रेसको स्वर्णिम इतिहासमा नयाँ मिसाल थप्ने, जग मजबुत गर्ने रहेको पनि बताएका छन् । कांग्रेसले सिङ्गो देशलाई आशा र भरोसा दिलाउन सक्नुपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया