हिजोका डाइनामिक प्रचण्ड आज पिँधबेगरको लोटा हुनुभएको छः सुदन किराती (भिडिओसहित)


काठमाडौं, १९ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले अब पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई साथ दिन नसकिने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब आफू जनार्दन शर्माले सुरु गरेको अभियानमा जोडिएको बताएका हुन् । उनले अब पुरानो नेता, पुरानो पार्टी र भ्रष्टाचारीहरुलाई समाप्त पार्नुपर्ने बताए । नेता किरातीले आफूले माओवादी र प्रचण्ड छोडेको नभएर प्रचण्डले नै माओवादी र आफूहरुलाई छाडेको बताए ।

‘प्रचण्डलाई तपाईँले पनि छोडिदिनुभयो ?’ भन्ने प्रश्नमा उनले भने, ‘उहाँले हामीलाई छोड्नुभयो । हामीले कहाँ छोडेको हो र ? माओवादी छोडेर को गएको हो ? उहाँले नै हामीलाई छोड्नुभएको हो ।’

उनले अब नयाँ शक्ति निर्माण गरेर आगामी निर्वाचनमा जाने बताए । आजदेखि आफूहरुको अभियान सुरु भएको र अरु शक्तिहरुसँग एकता र गठबन्धनको ढोका खुल्ला रहेको उनले बताए ।

उनले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जीवनलाई दुई भागमा विभाजन गर्नुपर्ने बताए । उनले जनयुद्धदेखि संविधानसभाबाट संविधान जारी हुँदासम्म प्रचण्ड साँच्चै प्रचण्ड भएर भूमिका निर्वाह गरेको र संविधान जारी भएदेखि अहिलेसम्म भने पुष्पकमल दाहालको भूमिकामा रहेको बताए । उनले प्रचण्डको अवस्था अहिले पिँध नभएको लोहोटाजस्तो रहेको पनि बताए ।

‘उहाँको योगदानलाई इतिहासमा दुई खण्ड गर्नुपर्छ । जनयुद्धदेखि गणतन्त्र हुँदै संविधानसभाबाट संविधान जारी गरेसम्म एउटा प्रचण्ड । संविधान जारी गरेदेखि यहाँसम्म आउँदाको पुष्पकमल दाहाल । दुई भागमा विभाजन उहाँको जीवनलाई गर्नुपर्छ । मैले मेरो जीवनमा प्रचण्डलाई पुष्पकमल दाहाल भनेको थिईनँ । मलाई भन्न पनि मन लाग्दैन थियो । तर, यो दुई खण्डमा पछिल्लो समय हाम्रो यात्रा निरन्तर ओरोलो छ । हिजो हामीले डाइनामिक भनेको प्रचण्ड आज पिँधबेगरको लोहोटा हुनुभएको छ,’– उनले भने ।

प्रचण्डले भूमिका बदलेर अभिभावक भएर बस्नुपर्नेमा अहिलेसम्म चेत नखुलेको उनले बताए । पार्टीलाई अप्ठ्यारो परेको बेलामा सबैको हातेमालोबाट उद्दार गर्नुपर्ने बेलामा प्रचण्डले एकलौटी निर्णय गरेर एकताको नाममा अगाडि बढेको नेता किरातीको भनाइ छ ।