बाबुराम, विप्लव, घनश्याम र रास्वपाका प्रगतिशील नेताहरूसँग छलफल भइरहेको छ : जनार्दन शर्मा


काठमाडौं, १९ कार्तिक । नेकपा (माओवादी केन्द्र) छोडेर प्रगतिशील अभियान नेपाल घोषणा गरेका जनार्दन शर्माले आफ्नो अभियानमा हिजो विघटन गरिएको माओवादीबाट पनि थुप्रै नेताहरु आउने दाबी गरेका छन् । उनले विभिन्न ९ दलबीच भएको एकतालाई अनुमोदन गर्न बसेको हिजोको महाधिवेशन आयोजक समितिको बैठकबाट समेत सचिवालयमा रहेका साथीहरुले फोन गरेर आफ्नो अभियानमा आउने भनेको र थुप्रैले सन्देश पठाएको खुलासा गरेका हुन् ।

आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा उनले हिजो आफूले कसैलाई पनि मिटिङमा जान नरोकेको खुलाए । उनले भने,‘मैले हाम्रा साथीहरुलाई तपाईं आफ्ना कुरा सहमति वा असहमति जे हुन्छ, राखेर आउनुहोस भनेको थिएँ । हाम्रा साथीहरु पनि त्यहाँ मिटिङमा हुनुहुन्थ्यो । जानुभयो । कतिले राख्ने प्रयत्न गर्नुभयो, तर राख्न पाउनुभएन ।’

उनले आफूले विप्लव, घनश्याम भुसाल, रास्वपाका प्रगतिशील नेताहरुसँगपनि छलफल गरेको स्पष्ट पारे । आफूले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीका नेता बाबुराम भट्टराईसँग सम्वाद भइरहेको उनले बताए । उनले अहिलेका जेनजी विद्रोह गर्ने युवाहरुसँग पनि आफूहरु छलफलमा रहेको बताए । उनले नागरिक समाजका अगुवा, विद्धानहरुसँगपनि छलफल गरेको र सबैको स्वामित्व हुनेगरि स्वयमसेवा गर्नेगरि तयारीमा जुटेको बताए ।