काठमाडौं, १९ कात्तिक । नेकपा (माओवादी केन्द्र) का पूर्व उपमहासचिव जनार्दन शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘क’ श्रेणीको बैंक (माओवादी केन्द्र) लाई डुब्दै गरेको सहकारी (एकीकृत समाजवादी) सँग मर्ज गरिदिएको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी, एकीकृत समाजवादीसहित ९ दलीय वाम एकता चार/छ महिनाको लागिमात्रै रहेको र यो चाँडै विघटन हुने बताएका हुन् ।
‘उहाँले ‘क’ श्रेणीको बैंकलाई डुब्दैगरेको सहकारीसँग मर्ज गर्नुभएको छ । अब यो बैंकका रहेपहेका सबै सम्पत्ति पनि खराब कर्जामा गनिने छन् । खराब कर्जा भएको सहकारीसँग मर्ज गरेजस्तै हो । उहाँले अब अरु कम्युनिष्टलाई एकता गर्ने कुरा छैन । हिजो नेकपा बनाउँदा दुईवटा नेताका कारणले गर्दा, कुर्सीको तानातानले विघटन गर्नुभएको थियो । अब उहाँ निराशाको बाटोमा जानुभएको छ । त्यो चार/छ महिनामा विघटन हुन्छ,’– उनले भने ।
साथै, नेता शर्माले आफूलाई नारायणकाजी श्रेष्ठबाट कुनै अपेक्षा नरहेको बताए । नारायणकाजीसँग प्रचण्डको आफ्नै खालको बाध्यता र सम्बन्धहरु रहेको, अहिले बार्गेनिङ चलिरहेको बताए । उनले नारायणकाजीको विगतको सुशासनको कुरा पनि नाटकमात्रै थियो भन्ने पुष्टि भएको बताए । ‘नारायणकाजीले सहयोग गर्ने भन्ने पहिला पनि थिएन । अहिले पनि छैन । उहाँको आफ्ना बाध्यताहरु, प्रचण्डसँगको उहाँको सम्बन्ध, उहाँहरु बीचका बार्गेनिङहरुको कारणले त्यही हुनुहुन्छ । नारायणकाजीको सुशासनको कुरा नाटकमात्रै थियो भन्ने भन्न चाहन्छु,’– उनले भने ।




प्रतिक्रिया