निगमका जहाजमा यात्रा गर्नेले चार घण्टाअगावै विमानस्थल पुग्नुपर्ने


काठमाडौं, कात्तिक २० । नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानका यात्रुलाई उडान समयभन्दा कम्तीमा चार घण्टाअगावै विमानस्थल पुग्न अनुरोध गरेको छ।

निगमले मंगलबार एक सूचना जारी गर्दै यात्रुहरूको चेक इन प्रक्रिया सहज र समयमा सम्पन्न गर्नका लागि यस्तो व्यवस्था गरिएको जनाएको छ।

सूचनामा भनिएको छ, ‘नेपाल वायुसेवा निगमबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्नु हुने सम्पूर्ण यात्रु महानुभावले उडान समय तालिकाभन्दा चार घण्टाअगावै चेक इनका लागि विमानस्थल पुगेर सहयोग गरिदिनुहुन निगम हार्दिक अनुरोध गर्दछ।’

निगमका अनुसार चेक इन काउण्टर उडान समयभन्दा एक घण्टाअगावै बन्द गरिने छ। त्यसपछि आउने यात्रुले चेक इन गर्न नपाउने भएकाले यात्रुहरूलाई निर्धारित समयमै विमानस्थल पुग्न आग्रह गरिएको हो।