काठमाडौं, २० कार्तिक । पूर्वमन्त्री सुमना श्रेष्ठले पूराना दलहरु रिफर्म होलान् र राजनैतिक निकास पाईएला भन्ने आशा राख्नु मुर्खता हुने बताएकी छिन् । उनले फेशबुकमार्फत पटक पटक नेतृत्वमा पुगेर देशलाई निराशाबाहेक केही दिन नसकेकाहरु एकजुट हुनु केवल चुनावी समिकरण मिलाउनको लागि मात्रै भएको उल्लेख गरेकी छिन् । तर, परिवर्तन ल्याउने भनिएकाहरु भने अझै पनि छिन्नभिन्न भएकोमा उनको गुनासो छ ।
उनले लेखेकी छिन्–
राजनैतिक निकास बिना कुनै पनि आन्दोलन सस्थागत हुन् सक्दैन भन्ने बुझाइ हामी सबैको हो। तर पुराना दलहरु रिफर्म होलान र राजनैतिक निकास पाइएला भन्ने आशा राख्नु मुर्खता हो। पटक पटक नेतृत्वमा पुगेर देशलाई निराशा बाहेक केही दिन नसकेकाहरू एकजुट हुदै छन्, चुनावी समिकरण मिलाउनको लागि ।
परिवर्तन ल्याउने भनिएकाहरू भने अझै छिन्न भिन्न। त्यसको एउटा कारण नेतृत्व कसले लिने भन्ने कुरामा गएर अड्कने रहेछ । यस अवस्थामा परिवर्तनको अपेक्षा राख्ने हर एक व्यक्तिलाइ समेट्न सक्ने सामुहिक नेतृत्वको आवश्यकता देख्दछु।
सबै समुह, वर्ग, क्षेत्र र विशेषगरी सामाजिक मुद्दाहरुलाई एकीकृत गर्दै निकासका लागि एकल नेतृत्वबाट हटेर सामुहिक नेतृत्वको अवधारणामा जान सकिन्छ कि? पार्टीलाई दिशा दिन एक नेता हैन एउटा परिषद् ( काउन्सिल अफ लिडर्स) बनाए कस्तो होला? कुनै एक नायकको अनुहार अगाडि राख्नको सट्टा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिन्न?
हामीलाई अहिले चाहिएको मध्यमार्गी पथमा हिडेर बजारलाई ठिक्क नियमनमा राखी सम्बृद्धि ल्याउने सरकार हो । यस्तो जनताको मुद्दा बोक्ने “वैकल्पिक“ राजनीतिलाई मूलधारमा ल्याउने आन्दोलनको मर्म आत्मसात गर्न सबैले मनन गरौँ।




प्रतिक्रिया