एमाले आन्दोलनको तयारीमा, प्रतिनिधिसभा पूनःस्थापनाको लागि हस्ताक्षर संकलन सुरु


काठमाडौं, २० कार्तिक । नेकपा (एमाले) प्रतिनिधिसभा पूनःस्थापना गर्नको लागि सडक संघर्षमा उत्रिने भएको छ । अध्यक्ष केपी शर्मा ओली र पदाधिकारीका अधिकांश नेताले संसद् विघटन असंवैधानिक भन्दै पूनःस्थापनाको लागि सडकमा उत्रिन नेता तथा कार्यकर्तालाई तयार पारेका छन् । सरकार २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावको तयारीमा जुटेको छ ।

तर, एमाले नेतृत्वले भने नजर अदालततर्फ डुलाएको छ । आजबाट एमालेले विघटिन प्रतिनिधिसभाका आफ्ना सांसदहरुको हस्ताक्षर संकलन थालेको छ । यसको अगुवाई महेश बर्तौला र सुनिता बरालले गरेको चर्चा छ। अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेलले पनि अहिले संसद् पूनःस्थापनाको लागि निर्णायक आन्दोलन गरिने भन्दै त्यसमा कार्यकर्ताको असली परीक्षा हुने बताएका छन् ।

माओवादी केन्द्रसहितका अन्य दल चुनावी तयारीका साथ होमिएको बेलामा एमाले भने प्रतिनिधिसभा पूनःस्थापनाको लागि मुद्दा लिएर अदालत जानेगरि जुटेको छ । ओलीले यसअघि सभामुख देवराज घिमिरेलाई नै यो मुद्दा लिएर अदालत जान दबाव दिएको चर्चा छ । योबीचमा सभामुख घिमिरेले पनि दलका नेताहरुसँग छलफल गरेका थिए ।

तर, अहिलेसम्म उनी संसद् पूनःस्थापनाको लागि जानेगरि अघि बढेको बुझिएको छैन । एमाले नेतृत्वले नेपाली कांग्रेसपनि संसद् पूनःस्थापनाको पक्षमा उभिनेमा ढुक्क छ । कांग्रेस सभापति शेरबहादुर देउवा यतिवेला पत्नी आरजु राणासहित उपचारको लागि सिंगापुरमा छन् । यता, उनको दलको केन्द्रीय समितिको बैठक भने १५औं महाधिवेशन २१ फागुनअघि कि पछि भन्नेमा अल्झिएको छ । file photo