काठमाडौं, कार्तिक २१ । नेकपा (एकीकृत समाजवादी) त्यागेर पुनः एमालेमा प्रवेश गर्न लागेकी नेतृ रामकुमारी झाँक्रीले एकीकृत समाजवादीले आफूलाई गरेको कारबाहीप्रति समाजिक सञ्जालमार्फत तीखो टिप्पणी गरेकी छिन् । नेतृ झाँक्रीले पूर्वप्रधानमन्त्री माधव नेपाललाई सञ्जालमार्फत आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने भनेर सम्बोधन गरेकी छन् ।
उनले लेखेकी छिन् ‘आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड? केही अर्थ छ र अब पनि कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र? तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने ज़िम्मेदारीमा बसेर काम गर्नु भयो। यो अन्तिम घटनाले तपाईको ईतिहासलाई फेरी बल्झायो । विर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए।’
उनले थप भनेकी छिन्, ‘जिन्दगीमा के लानु छ कमरेड? समाज र देशको लागि जीवन/जवानी अर्पण गरेको ब्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पशलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि। बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र शुस्वास्थ्यको हार्दिक शुभकामना। तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधै सम्झने छु। ‘
एकीकृत समाजवादी नै नेकपा माओवादी केन्द्र नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा विलय भइसकेको अवस्थामा माधवकुमार नेपालले ६ जना नेतामाथि विहिबार कारबाही गरेका थिए । नेपालले पार्टी निर्णय उल्लङ्घन गरेको आरोपमा समाजवादी पुनर्गठन अभियान चलाइरहेका महासचिव घनश्याम भुसाल र पूर्व मन्त्री रामकुमारी झाँक्रीसहित ६ जनालाई साधारण सदस्यबाटै निष्कासन गरेका हुन् ।





प्रतिक्रिया