‘स्कूले विद्यार्थीले ज्यान गुमाउनु परेको दुःखमा होइन, ओलीले आफ्नै सुरक्षाको चिन्तामा प्रधानमन्त्रीबाट राजीनामा दिए’


काठमाडौं, २१ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन–जी आन्दोलनको उत्कर्षमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सुरक्षाको चिन्तामा राजीनामा दिएको निष्कर्ष निकालेको छ । चितवनको सौराहमा जारी रास्वपाको विस्तारित केन्द्रीय समिति बैठकमा उपसभापति डोलप्रसाद अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमा ओलीले स्कूले विद्यार्थीले ज्यान गुमाउनुपरेकोमा ओलीलाई कुनै दुःख र पश्चताप नरहेको उल्लेख गरिएको छ ।

‘तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन बाध्य पारेको पनि २४ गतेको घटनाले नै हो । स्कूले विद्यार्थीले ज्यान गुमाउनु परेको दुःखमा होइन, आफ्नै सुरक्षाको चिन्तामा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो,’– राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

साथै, जेन–जीबाट आन्दोलनको उद्घोष भए पनि त्यसमा अन्य पुस्ताको समेत सहभागिता रहेको रास्वपाको निष्कर्ष छ । जेन–जी आन्दोलनमा रास्वपाको पनि नैतिक समर्थन रहेको उल्लेख गरिएको छ । पछिल्ला वर्षहरूमा तीन दलीय सिन्डिकेटको आलोपालो स्वेच्छाचारी शासनका कारण बढेका विकृति,विसंगतिले वाक्क–दिक्क भएका नागरिकको स्वस्फूर्त सहभागिताले आन्दोलन सफल भएको रास्वपाको निष्कर्ष छ ।

सरकारको चरम दमन र विद्यालय पोशाकमा आएका विद्यार्थीलगायतको हत्यापछि जनस्तरबाटै प्रतिवाद हुँदा आन्दोलन निर्णायक र सफल भएको प्रतिवेदनमा उल्लेख छ । भदौ २४ को विध्वंशमा राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको तथ्य फोटो र भिडियोबाट खुलिसके र उक्त घटना योजनावद्ध हो कि भन्ने आशंका पनि रहेको राहेको रास्वपाले उल्लेख गरेको छ । भदौ २३ र २४ गते दुवै दिनका घटनाको निष्पक्ष र जनविश्वासयोग्य छानबिन आवश्यक रहेको रास्वपाको भनाइ छ ।

‘हामी अत्यन्तै प्रष्ट रुपमा भन्छौं २३ गते राज्य शक्तिको दुरुपयोगमा जनहत्या भएकै कारण २४ गतेका घटना भएका हुन् । तर, दुबै दिनका घटनाको निष्पक्ष छानबिन गरी अपराध र संलग्नताको आधारमा दोषीलाई कारबाही गर्नुपर्छ,’– राजनीतिक प्रतिवेदनमा भनिएको छ ।