काठमाडौं, २१ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमार्फत नै अहिले देशलाई संवैधानिक ट्रयाकमा फर्काउनसक्ने बताएको छ । आजबाट सुरु भएको पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकमा पेश गरिएको कार्यवाहक उपसभापति डिपी अर्यालको राजनीतिक प्रतिवेदनमा यो कुरा उल्लेख गरिएको छ ।
जहाँ भनिएको छ,‘निर्वाचन नै मुख्य कार्यभार रहेको सरकारले दलहरुलाई विश्वासमा लिएर चुनावी वातावरण बनाउने प्रयास थालेको छ । तर, केही नेता तथा विशेषसँग प्रधानमन्त्री स्वयमको संवाद अनिच्छाले ती दल र सरकारबीचको दूरी बढाउने हो कि भन्ने स्वभाविक चिन्ता पनि छ । सरकार, सबै दल, नेता तथा जनताको अभिभावक भएकाले उसमा कसैप्रति पनि आग्रह–पूर्वाग्रह पटक्कै हुनुहुन्न ।’
अर्यालले चुनावको चूनौतिको रुपमा प्रहरीको खस्किएको मनोवल, आन्दोलनका क्रममा लुटिएका हतियार, अझै कारागार नफर्किएका कैदी, जेनजीका नाममा आईरहेका विभिन्न माग र भईरहेका अस्वभाविक व्यवहार पनि चुनावका चूनौति हुन भनेका छन् ।
रास्वपाले भदौ २३ गतेको जेनजी आन्दोलनमा तत्कालिन सरकारले चरम दमन गरेको र विद्यालय पोशाकमा आएका विद्यार्थीलगायतको हत्या गरेपछि जनस्तरबाट प्रतिवाद हुँदा आन्दोलन निर्णायक र सफल भएको दाबी गरेको छ ।
यो कुरा उल्लेख गरिएको छ । आन्दोलन सफल हुनुमा जेनजी पुस्ताको साथमा अन्य पुस्ताले पनि हातेमालो गर्नु रहेको रास्वपाको बुझाई छ ।
भदौ २४ गतेको विध्वंशमा त राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको तथ्य फोटो र भिडिओबाट खुलिसकेको उसको दाबी छ । प्रतिवेदनमा भनिएको छ,‘सार्वजनिक भएका केही तथ्यले भदौ २४ गतेको घट्ना योजनावद् हो कि भन्ने आशंकालाई पनि बढाएको छ । दुवै दिनका घट्नाको निष्पक्ष र जनविश्वासयोग्य छानबिन आवश्यक छ । हामी अत्यन्तै प्रष्ट रुपमा भन्छौं–२३ गते राज्य शक्तिको दुरुपयोगमा जनहत्या भएकै कारण २४ गतेको घट्ना भएका हुन् । तर, दुवै दिनका घटनाको निष्पक्ष छानबिन गरी अपराध र संलग्नताको आधारमा दोषीलाई कारबाही गर्नुपर्छ । त्यो कारबाही चाहीँ २३ गते नरसंहार गर्नेबाट हुनुपर्छ ।’




प्रतिक्रिया