काठमाडौं, २१ कार्तिक । नेकपा (एमाले) की सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले भदौ २३ र २४ गते भएको राजनीतिक घटनाक्रम देशको लोकतान्त्रिक अभ्यासमाथिको प्रतिगमन र प्रतिक्रान्ति भएको दाबीगरेकी छिन् ।
सार्वभौम संसद् विघटन, जननिर्वाचित सरकार अपदस्थ र राज्यका अङ्गहरू निष्प्रभावी बनाइएको घटना नेपालको राजनीतिक यात्रामाथिको ठुलो धक्का भएको उल्लेख गर्दै उनले भनिन्–‘भदौ २३ र २४ को घटना केवल राजनीतिक निर्णय थिएनन्, ती घटनाले व्यवस्थापिका र कार्यपालिका दुबैलाई खरानी बनाए, यो अग्रगामी होइन, पूर्णतः पश्चगामी कदम हो । उक्त घटनाबाट मुलुकको संस्कृति, राजनीतिक मूल्य र इतिहासमाथि आक्रमण भएको छ, जसले जनताको विश्वास कमजोर बनाएको छ ।’
अहिलेको आन्दोलनलाई ‘पछाडि फर्काउने प्रयास’को रूपमा चित्रण गर्दै उनले त्यो प्रतिक्रान्ति भएको बताईन् । सचिव अर्यालले भनिन्,‘आजको आन्दोलनले मुलुकलाई अघि होइन, दशकौँ पछाडि फर्काउन खोजिरहेको छ, त्यसैले यस अवस्थामा कार्यकर्ता बहकिनु हुँदैन, स्पष्ट राजनीतिक दृष्टिकोण आवश्यक छ ।’
उनले कार्यकर्तामाझ राजनीतिक स्पष्टता र वैचारिक दृढताको आवश्यकता औल्याउँदै भदौ २३ गते दिउँसो १ बजेसम्मको आन्दोलन र त्यसपछि भएका घटनालाई फरक ढङ्गले बुझ्नुपर्ने धारणा राखिन् । त्यो मोडबाट देशले जनताको अधिकार र संवैधानिक लोकतन्त्रमा ठुलो ह्रास आएको उनको ठम्याइ छ ।
लोकतन्त्र, सुशासन र विकासको जिम्मा बोकेको एकमात्र शक्ति एमाले भएको भन्दै सचिव अर्यालले सुशासन कायम गर्ने एजेन्डा पार्टीको मुख्य अभियान रहेको बताईन् । उनले भनिन्,‘हामीले जनतासँग गरेको वाचा सुशासन हो, जनजीविकाका मुद्दा उठाउने हाम्रो प्रतिवद्धता हो, एमालेले नै जनताको प्रश्नलाई संस्थागत रूपमा बोकेको छ ।’
उनले लुम्बिनी प्रदेशका जिल्ला कमिटी, जनसंगठन र महिला नेतृहरूलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिँदै भदौ २३ र २४ को घटनाले दिएको चेतावनीलाई पार्टीले आत्मसात गर्नुपर्ने बताईन् ।




प्रतिक्रिया