काठमाडौं, २१ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले पार्टीको १५ औँ महाधिवेशन आगामी २०८३ वैशाख ६ गतेबाट सुरु गर्न प्रस्ताव गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार धारणा राख्दै क्रियाशील सदस्यता वितरणदेखि प्रतिनिधिसभा निर्वाचन र अधिवेशन आयोजनासम्मको विस्तृत कार्यतालिका प्रस्तुत गर्दै महाधिवेशनका लागि स्पष्ट मिति तोक्न माग गरेका हुन् ।
पौडेलले मङ्सिर १ देखि पुस १५ सम्म क्रियाशील सदस्य वितरण, पौष १५ देखि फागुन २१ सम्म प्रतिनिधिसभा निर्वाचनमा जुट्ने, चैत्र महिनाभर वार्डदेखि प्रदेशसम्मका अधिवेशन सम्पन्न गर्ने र नेविसंघ स्थापना दिवस अर्थात् वैशाख ६ गते कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन गर्ने प्रस्ताव गरेका हुन् ।
बैठकमा पौडेलले कांग्रेसको सक्रिय सहभागिता विना आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन हुनै नसक्ने बताए । ‘अहिले हामी अलमलिएका छौँ, चुनावी वातावरण बनेको छैन,’ पौडेलले भने- ‘जसरी पनि फागुन २१ मा निर्वाचन गराएर संसद्लाई पूर्णता दिनुपर्छ । त्यसपछि महाधिवेशन गरौँ—त्यो नै संविधानलाई सही ट्र्याकमा ल्याउने बाटो हो ।’
उनले कांग्रेसका नेताहरूलाई चुनावमुखी, जिम्मेवार र आत्मआलोचनात्मक बन्न सुझाए । पौडेलले पार्टीका महामन्त्रीहरूमाथि सङ्गठन निर्माणमा निष्क्रियता देखाएको आरोप लगाए। २०७९ साउनमा गठन भएको क्रियाशील सदस्यता सहायता व्यवस्थापन समितिले ७४ जिल्लामा नवीकरण सुरु गर्न नसकेको बताउँदै भने ‘महामन्त्रीहरूले वेबसाइटमा देखाउने कुरा र वास्तविकता फरक छ। सदस्यता वितरण ढिलो हुँदा पार्टीको गति रोकिएको छ।’ पौडेलले उद्योग, व्यापार र रोजगार क्षेत्रको कमजोर मनोबलले अर्थतन्त्र सङ्कटतिर गएको भन्दै पार्टीले आर्थिक सुधार र विश्वास पुनःस्थापनाको मुद्दा उठाउनुपर्ने बताए।




प्रतिक्रिया