अष्टलक्ष्मीदेखि योगेशसँग ओली फायर, ‘उपाध्यक्ष र सचिव बनाएँ, अहिले कराँते सिकेर मेरै टाउकोमा हानिरहेका छन्’


काठमाडौं, २१ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरु आफ्नो विरुद्धमा लागेको भन्दै चित्त दुखाएका छन् । एमाले शिक्षा तथा मानवस्रोत विभागद्वारा आज (शुक्रबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीका उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट, योगेश भट्टराईलगायत लक्षित गर्दै उनीहरु आफ्नो विरुद्धमा लागेको बताएका हुन् ।

अध्यक्ष ओलीले पार्टीको १०औं महाधिवेशनमा आफैंले उपाध्यक्ष र सचिव बनाए पनि अहिले कराँते सिकेर आफ्नै टाउकोमा हानिरहेको टिप्पणी गरे । ओलीले ०७७ सालमा आफूलाई पार्टी सदस्यबाटै हटाउनेहरूलाई पदमा पुर्याएको बताए । ‘उनीहरूले कराँते सिक्ने भनेको अन्त होइन, मेरै टाउकोमा हान्नको लागि हो । अभ्यास नै त्यही भयो, जसले निकाल्यो, उनीहरूलाई मैले उपाध्यक्ष र सचिव बनाएको हो । नत्र भने कहाँबाट आउँथे,’– उनले भने ।

पार्टी पुनर्गठनको माग गर्दै केही नेताहरु आफूविरुद्ध अनुशासनहीन भएर प्रस्तुत भएको उनले बताए । मिडियामा गएर पार्टीकै विरुद्धमा बोलेको भन्दै ओलीले चित्त दुखाए । उनले काम नगर्नेहरुले पार्टी छाड्न सक्नेसमेत बताए । को नेताले काम गरेको छ कि छैन भन्ने कुरा कार्यकर्ताले फैसला गर्ने पनि बताए ।