विप्लव, घनश्याम र जनार्दनको संयुक्त वक्तव्य जारी : ‘राष्ट्रियता र लोकतन्त्र खतरामा परेका छन्’


काठमाडौं, २१ कार्तिक । नेकपाका महासचिव विप्लव सी, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसाल र प्रगतिशील राष्ट्रिय अभियानका जनार्दन शर्माले संयुक्त वक्तव्य जारी गरेका छन् । उनीहरुबीच आज विहान भेटवार्ता भएको थियो । त्यही भेटमा संयुक्त वक्तव्य जारी गर्ने समझदारी भएको हो ।

उनीहरुले अहिले मुलुकमा असाधारण राजनीतिक अन्योल रहेको भनेका छन् । सत्तासिन नेताहरु गैरजिम्मेवार बन्दै र राजनीतिक दलहरुले खेल्नुपर्ने भूमिका कमजोर हुँदै जाँदा राज्य, राजनीति र राजनीतिक दल र तिनका नेताहरु जनताबाट टाढिँदै गएका थिए भन्ने दाबी गरिएको छ । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घट्नाक्रमले मुलुकलाई झन् झन् अन्योलग्रस्त बनाएको उनीहरुको भनाई छ ।

जारी विज्ञप्तीमा भनिएको छ,‘राष्ट्रियता, लोकतन्त्र र जनताका हकअधिकार एकसाथ खतरामा परेका छन् । राष्ट्रिय जीवन असुरक्षित हुँदै गएको छ । मुलुकका पुराना राजनीतिक दलहरु, खासगरी तिनका नेताहरु पूरानै संरचना र तरिका जोडजाड गरेर संकटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन चाहन्छन् । त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र संकटतर्फ धकेल्ने कुरा निश्चित् छ । पूरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ ।’

उनीहरुले आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु ज्वलन्त कार्यभार बनेको पनि उल्लेख गरेका छन् । राष्ट्रमाथि चौतर्फी संकट आएको भन्दै सबै प्रतिबद्ध कम्युनिष्टहरु, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुले बृहत्त मोर्चाबन्दीको लागि पहलकदमी लिनु आवश्यक भएको औंल्याएका छन् ।