काठमाडौं, २१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, तत्कालीन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र तत्कालीन एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले एक भएर अगाडि बढ्ने संकल्प गरेका छन् । आज (शुक्रबार) संयुक्त प्रेस वक्तव्य जारी गर्दै उनीहरुले ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकतावद्ध भएर अघि बढ्ने निर्णय गरेका हुन् ।
उनीहरुबीच आज विहान भेटवार्ता भएर संयुक्त वक्तव्य जारी गर्ने समझदारी भएको थियो । नेतात्रयले अहिले मुलुकमा असाधारण राजनीतिक अन्योल रहेको निष्कर्ष निकालेका छन् । सत्तासिन नेताहरु गैरजिम्मेवार बन्दै र राजनीतिक दलहरुले खेल्नुपर्ने भूमिका कमजोर हुँदै जाँदा राज्य, राजनीति र राजनीतिक दल र तिनका नेताहरु जनताबाट टाढिँदै गएका थिए भन्ने दाबी गरिएको छ । जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घट्नाक्रमले मुलुकलाई झन् झन् अन्योलग्रस्त बनाएको उनीहरुको भनाई छ ।
जारी विज्ञप्तीमा भनिएको छ,‘ राष्ट्रियता, लोकतन्त्र र जनताका हकअधिकार एकसाथ खतरामा परेका छन् । राष्ट्रिय जीवन असुरक्षित हुँदै गएको छ । मुलुकका पुराना राजनीतिक दलहरु, खासगरी तिनका नेताहरु पूरानै संरचना र तरिका जोडजाड गरेर संकटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन चाहन्छन् । त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र संकटतर्फ धकेल्ने कुरा निश्चित् छ । पूरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ ।’
माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत १० कम्युनिष्ट घटकबीच एकता हुने क्रममा असन्तुष्ट समूहहरुले विप्लवको सहारा खोजेका हुन् । १० वाम घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् भने सहसंयोजकको भूमिकामा माधवकुमार नेपाल रहेका छन् ।




प्रतिक्रिया