काठमाडौँ, २१ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सार्वजनिक पुस्तकालयको विकासमा प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको आज आयोजित २२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सार्वजनिक पुस्तकालय निर्माणका लागि बागमती प्रदेशले सहयोग गर्न तयार रहेको बताएका हुन् ।
मुख्यमन्त्री बानियाँले प्रविधिको प्रयोगसँगै पुस्तक पढ्ने बानी हराउँदै गएकामा चिन्ता व्यक्त गरे । उनले युवालाई प्रविधियुक्त पुस्तकालयमा जोड्नका लागि यस्ता सार्वजनिक पुस्तकालयको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे ।
सार्वजनिक पुस्तकलायलाई अन्तरराष्ट्रियस्तरको पुस्तकालयका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । पाठकको अभिरुचिअनुसार पुस्तक तथा शैक्षिक सामग्री यस पुस्तकालयमा अद्यावधिक गर्नुपर्ने मुख्यमन्त्री बानियाँले बताए ।
काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजका अध्यक्ष प्रा.डा.गोविन्दराज पोखरेलले पुस्तकालयलाई यसअघि सङ्घीय सरकारबाट सहयोग प्राप्त भइरहेको भए पनि पछिल्लो समय सहयोग नहुँदा पुस्तकालय सञ्चालनमा समस्या भएको बताए । उनले पुस्तकालयको विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारको सहयोग आवश्यक रहेको उल्लेख गरे ।




प्रतिक्रिया