काठमाडौं, २३ कात्तिक । मातृभूमि जागरण अभियान नेपालका संयोजक एवं पूर्व उपप्रधानमन्त्री डा.भीम रावलले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका सन्दर्भमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जिम्मेवार बनाइनुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा नेता रावलले उक्त घटनामा देशका तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री जिम्मेवार हुनुपर्ने बताएका हुन् । उनले पूर्व प्रधानमन्त्री ओलीलाई अहंकारको चुलीमा बसेको मान्छेको संज्ञा दिए । ओलीले ममाथि पनि छानविन गर भन्न सक्नुपर्नेमा उल्टै अहंकार र दम्भ प्रदर्शन गरेको उनको भनाइ छ ।
‘देशको प्रधानमन्त्री र गृहमन्त्री त जिम्मेवार हुनुपर्छ नि । यदि यो लोकतन्त्र हो, कानूनी शासन हो, जनउत्तरदायी शासन हो भने जिम्मेवार हुनुपर्छ । नत्र मान्छेलाई गफ दिएर मैले कहाँ आदेश दिएको भनेर हुँदैन । जनता भनेको भेडा हुन्, मैले जे भने पनि हुन्छ भनेर अहंकारको चुलीमा बसेका मान्छे हुन् । भदौ २३ गते नै राजीनामा दिएर ममाथि छानविन गर भन्न सक्नुपर्थ्यो,’– नेता रावलले भने ।
भदौ २३ र २४को घटनाबारे आफूलाई केही थाहा छैन र आदेश दिएको छैन भनी ओली र रमेश लेखकले जवाफ दिने हो भने उनीहरुालई गर्नुपर्ने काम नगरेको अवस्थामा कानूनको दायरामा ल्याउनुपर्ने उनले बताए । उनले तत्कालीन प्रधानमन्त्री ओलीलाई अयोग्य, गैरजिम्मेवार र पदमा एकछिन पनि बस्न उपयुक्त नरहेको मान्छे रहेको टिप्पणी गरे । ओलीले सुरक्षाकर्मीले जानकारी गरौ, मैले थाहा पाइनँ, कसले गोली चलायो भन्ने थाहा भएन भन्ने प्रधानमन्त्री र मन्त्रीहरुलाई तत्काल आफ्नो पदीय दायित्व पूरा नगरेकोमा कारबाही गर्नुपर्ने उनले बताए ।
‘यदि उहाँहरुले भनेजस्तो घटना कसरी घट्छ भन्ने पनि कुनै सुइँको भएन, ओलीजीले भन्नुभएजस्तो– सुरक्षाकर्मीले पनि मलाई जानकारी गराएन, मैले केही थाहा पाइनँ । त्यहाँ कसले गोली चलायो त्यो पनि थाहा भएन भनेर उहाँले भनेको बाहिर आएको छ, यही उहाँले भनेको हो भने, उहाँलाई आफ्नो पदीय दायित्व पूरा नगरेकोमा तत्काल छानविन गर्नुपर्छ,’– उनले भने ।
साथै, भदौ २३ गतेको घटनाको आफूले त्यही बेलामा निन्दा गरेको पनि उनले बताए । प्रधानमन्त्री र गृहमन्त्रीले घटना घटेपछि ‘मैले आदेश दिएको थिएन, म जिम्मेवार होइन’ भन्न नमिल्ने र यदि त्यसो भनेमा अनैतिक हुने उनको भनाइ छ ।
‘जब २३ गते जुन प्रकृतिको दमन भयो नि, मैले त्यसैबेला निन्दा गरेको थिएँ । यस सम्बन्धमा जो व्यक्ति जिम्मेवार हुन्, उनीहरुलाई कारबाही गर्नुपर्छ भनेको थिएँ । कुनै पनि प्रधानमन्त्री, गृहमन्त्रीले त्यस्तो घटना घटेपछि मैले आदेश दिएको थिएन, म जिम्मेवार होइन भन्नु उनीहरुको घोर अनैतिक काम हुन्छ । उनीहरु पूर्ण रुपमा जिम्मेवार हुनुपर्छ,’– उनले भने ।




प्रतिक्रिया