काठमाडौं, २३ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विधानको दफा १७ (२) मा भएको स्पष्ट व्यवस्था विशेष महाधिवेशनको लागि बाध्यात्मक रहेको बताएका छन् । उनले नियमित महाधिवेशन पुस, माघ, वैशाख वा त्योभन्दा अघिपछि गर्न कांग्रेसको विधानले बाधा नपर्ने भए पनि विधानको दफा १७ (२) को
प्रष्ट निर्देशनलाई बेवास्ता गर्न नहुने बताएका हुन् । ‘विशेष महाधिवेशन ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न विधानको दफा १७(२) को स्पस्ट निर्देशन छ । यो बाध्यात्मक छ,’– उनले भनेका छन् ।
विशेष महाधिवेशनको मागलाई विशेष महाधिवेशनको आयोजनाले कि त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्न सकिने उनले बताएका छन् । यसलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरिकन प्रष्ट ढंगले बुझ्न जरुरी रहेको उनले बताए । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेको विशेष महाधिवेशन आयोजना हुनुपर्ने उनले बताए ।
‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मुल प्रश्न हो । विशेष महाधिवेशनको मागलाई कि विशेष महाधिवेशनको आयोजनाले कि त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्नसक्दछ । यसलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरिकन प्रष्ट ढंगले बुझ्न जरुरी छ,’– उनले भनेका छन् ।
उनले कांग्रेस केन्द्रीय समितिमा चलिरहेको छलफल पार्टी र राष्ट्रिय जीवनका लागि महत्त्वपूर्ण रहेको र केहिदिनभित्रै एकता र परिपक्वता साथ निर्णयमा पुग्नुपर्ने बताए । कांग्रेसले कांग्रेसको जीवनका लागि गर्नुपर्ने कामभन्दा ठूलो देशका लागि कांग्रेसले गर्नुपर्ने थुप्रै काम रहेको उनले बताएका छन् । ‘हामीले त्यसप्रति झनै गम्भीर हुनुछ । आन्तरिक मूल प्रश्नभन्दा माथिको यो मुल प्रश्नमा हामी सबल र सफल हुनुछ,’– उनले भने ।




प्रतिक्रिया