छेडागाड मेलामा झडप हुँदा कार्की गम्भीर घाइते, पाँच जना पक्राउ


काठमाडौं, २३ कात्तिक । जाजरकोटको छेडागाड नगरपालिका–८ रौतन गाउँमा आयोजित औँसी भुवा मेलामा झडप हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्। घटनामा छेडागाड नगरपालिका–८ निवासी रमेश कार्कीमाथि सोही नगरपालिकाको वडा–९ निवासी वडाअध्यक्ष गोपालबहादुर नेपालीका छोरा किशोर नेपालीसहित पाँच जनाले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए। आक्रमणका क्रममा रमेशको टाउकोमा चक्कु प्रहार गरी गम्भीर घाइते बनाइएको थियो।

स्थानीयले घटनास्थलमै रमेशलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल खलङ्गा पुर्‍याएका थिए। अवस्था गम्भीर भएपछि उनलाई नेपालगन्ज रिफर गरिएको र त्यहाँबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो। हाल उपचारपछि स्वास्थ्यमा सुधार आएपछि घर फर्काइएको छ।

घटनामा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते रमेश कार्कीका दाइ र आफैं नेकपा (एमाले) मा सक्रिय राजनीतिमा संलग्न छन् भने कुटपिट गर्ने पाँच जनासमेत वडा–९ का सक्रिय राजनीतिक व्यक्तिहरू हुन्। पीडित पक्षको दाबीअनुसार राजनीतिक दवाबका कारण घटनापछि निष्पक्ष न्याय पाउनेमा शंका रहेको छ।

सरकारी वकिल कार्यालयले तयार गरेको मिसिलसमेत पीडक पक्षले पहिले नै प्राप्त गरेको र सामाजिक सन्जाल मा राखेका कारण झनै शंका उत्पन्न गरेको छ । पीडित रमेशले निष्पक्ष अनुसन्धान र न्यायको माग गर्दै स्थानीय प्रशासनलाई दवाबमुक्त रूपमा काम गर्न आग्रह गरेका छन्।